२०७९ असार १८
  • काठमाडौँ

हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडा अध्यक्ष

३० कात्तिक, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् ।

सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् ।

समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।

बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।

‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् ।

वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।

सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बैठक चल्न नदिएपछि मेयरले वडा अध्यक्षलाई बाहिर पठाएको बताए ।

उनका अनुसार वडा अध्यक्षको मोटरसाइकल मर्मतको बिल पास नभएका कारण विवाद निस्किएको थियो । ‘उहाँको मोटरसाइकल मर्मतको बिल १० हजारको थियो, मैले तोक आदेश दिएँ तर माग फारम नभरेकाले लेखाले रोकेको रहेछ,’ उनले भने, ‘

बैठकमा इन्धन मर्मतको हिसाब खोज्नु भयो ।’ पालिकाले चालु आर्थिक वर्षका लागि इन्धनमा छुट्याएको ४२ लाख, मर्मतको ३० लाख र फर्निचरको ५० लाख खर्च हुने क्रममा रहेको दाबी उनले गरे ।

मेयर राईले बैठक चल्न नदिएपछि बाहिर बसेर सहयोग गर्न आग्रह गरिएको बताउँछन् । आफ्ना कुरा राखिसकेपछि अरुलाई कुरा राख्न नदिएपछि बाहिर पठाइएको उनले बताए । ‘बैठकबाट निकालेको होइन, बाहिर बसेर सहयोग गरिदिनुहोस् भनेको हो,’ उनले भने, ‘बहिर पनि कराउनु भएछ ।’

मेयर राई नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष भण्डारी भने माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । बैठक कक्षबाट वडा अध्यक्ष निकालिएपछि माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले आपत्ती जनाएका छन् । उनले वडा अध्यक्षमाथिको दुर्व्यवहारको मूल्य चुकाउने उल्लेख गरेका छन् ।

‘पथरी शनिश्चरे ४ का वडा अध्यक्षले उठाएका भ्रष्टाचारका प्रश्नको जबाफ नदिइ उनीमाथि नगरपालिका प्रमुखलगायतले गरेको दुर्व्यवहार आपत्तिजनक छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यसको घोर भर्त्सना गरिन्छ, यो दुर्व्यवहारको चर्को मूल्य पर्ने छ ।’यो समाचार अनलाइन खबर मा छ !

२०७८ कार्तिक ३०, मंगलवार ०८:०० 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।