
काठमाडौं – बलिउड अभिनेता अनुपम खेरले मंगलबार गरेको एउटा ट्विटपछि भारतकी आरती एकाएक चर्चामा आएकी छन् । काठमाडौंको पशुपतिनाथ परिसरमा मागेर गुजारा चलाउने आरतीको चर्चा चुलिएको हो।
चलचित्र ‘उचाइ’को छायांकनका क्रममा करिब २८ दिन नेपाल बसेर अनुपम अक्टोबर अन्तिममा भारत फर्किइसकेका छन् । त्यसका लागि नेपाल आएपछि अनुपम पशुपतिनाथ दर्शनका लागि पुगेका थिए।
सोही दिन उनको भेट आरती नामक एक किशोरीसँग भएको थियो । पशुपति परिसरमा भिख माग्दै गरेकी आरती आफ्नो देशका दिग्गज अभिनेता देखेसँगै खुसी भइन् । उनको र अनुपमको लामो कुराकानी हुन्छ, जसलाई अनुपमले भिडियोमा कैद गर्दै ट्विट गरेका छन्।
ट्विट गर्दै अनुपम लेख्छन्, “मैले आरतीलाई काठमाडौंको एउटा मन्दिरबाहिर भेटेको थिएँ । उनी राजस्थानबाट हुन् । उनले मसँग केही पैसा मागेकी थिइन् । त्यसपछि मसँग एउटा फोटो पनि खिचाइन् । त्यसपछि उनले एकदमै राम्रो अंग्रेजीमा बोल्न थालिन्…।”
आफूसँग केही पैसा माग्न आएकी आरतीले मजाले अंग्रेजीमा बोल्न थालेपछि अनुपम अच्चमित र खुसी भए । अनुपमसँग भेटेर खुसी भएकी आरती भन्छिन्, “मेरो नाम आरती हो । तपाईंलाई भेटेर निकै खुसी छु । म भारतको राजस्थानबाट हुँ।”
आरतीको अंग्रेजी सुनेर अनुपमले यति राम्रो अंग्रेजी कसरी बोल्न सिक्यौै ? भन्ने प्रश्न गरेपछि आरतीले आफू कहिल्यै विद्यालय नगएको तर नेपालमा माग्ने क्रममा सिकेको बताउँछिन्।
आफूलाई पढ्ने इच्छा भएको र धेरैलाई पढाइदिन आग्रह गरे पनि कसैले सहयोग नगरेको भन्दै आरतीले अनुपमलाई आफ्नो पढाइमा सहयोग गरिदिन आग्रह गर्छिन्।
आरतीको पढ्ने जोस र जाँगर देखेर अनुपमले आरतीको पढाइको जिम्मा लिने वाचा गर्छन् । अनुपमले आफ्नो फाउन्डेसन अनुपमकेयरले आरतीको पढाइको सबै जिम्मा लिने वाचा गरेपछि आरतीले पनि मन लगाएर पढ्ने वाचा व्यक्त गरेकी छन्।