
काठमाडौं , ७ कात्तिक । तीन बालकसँग यौनजन्य गतिविधि गरिरहेको अवस्थामा क्यानाडेली नागरिक पक्राउ परेका छन् ।
कास्की प्रहरीले शनिबार लेकसाइडको एक घरबाट ४४ वर्षीय रोबर्ट किङक्लेलाई पक्राउ गरी बालकहरूको उद्धार गरेको छ ।
बालकहरूलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गरिरहेको सूचना पाएपछि पछयाउँदा रोबर्टलाई रंगेहात पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले बताए ।
उनका अनुसार रोबर्ट ती बालकहरूसँग आपत्तिजनक अवस्थामा भेटिएका थिए । प्रहरीले किन्कलेको कोठाबाट ल्यापटप, मोबाइल, राहदानीलगायतका सामग्री बरामद गरेको छ ।
कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसुरमा उनीविरुद्ध सात दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।