२०७९ श्रावण २६
  • काठमाडौँ

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

काठमाडौ – कर फर्स्यौट आयोगका सदस्य चुडामणी शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असार ९ मा विशेष अदालतमा दर्ता गरेको राजश्व चुहावट मुद्दामा सुनुवाइ गर्दै विशेषले शर्मासँग उक्त धरौटी रकम माग गरेको हो । 

अख्तियारले तत्कालीन कर फर्स्यौट आयोगका पदाधिकारीले बदनियतपूर्वक एक अर्ब, ३३ लाख २० हजार ३८५ रूपैयाँ कर छुट दिएको भन्दै शर्मा लगायत आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा चलाएको थियो ।

शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बखत २०७१ माघ २२ माघमा गठित कर फर्स्यौट आयोगमा सदस्य थिए । अख्तियारले उक्त आयोगले अधिकारक्षेत्र बाहिर गई बदनियतपूर्वक करदातासँग कर फर्स्यौट सम्झौता गरेको ठहर गर्दै मुद्दा चलाएको थियो ।

शर्मा सोमबार विशेष अदालतमा उपस्थित भएपछि उनीसँग बयान लिइएको हो । बयानपछि अदालतका न्यायाधीशद्वय अब्दूल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा थुनछेक बहस भएको थियो । बयानका क्रममा शर्माले आफूहरूले कानून विपरीतको कुनै काम नगरेको दाबी गरेका थिए ।

बयानका क्रममा आफूमाथिको अभियोग अस्वीकार गरेको भएपनि विशेष इजलासले आयोगको निर्णयबाट करदाताले छुट पाएको देखिएको भन्दै उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नमिल्ने भनेको छ । तर, शर्मा भागेर जाने वा उनले प्रमाण नष्ट गर्नसक्ने अवस्था नभएकोले धरौटी मागेर तारेखमा छाड्नु उपयुक्त हुने अदालतको आदेशमा उल्लेख छ । ५० लाख रूपैयाँ धरौटी माग गर्ने र नगद वा बैंक जमानत दिन नसके मात्र उनलाई थुनामा पठाउन अदालतको आदेशमा भनिएको छ ।

अख्तियारले २०७४ साउन १ गते पनि शर्मासहित आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा अहिलेसम्म पनि विशेष अदालतले फैसला सुनाएको छैन । अख्तियारले थप अनुसन्धानपछि २०७८ को असार ९ मा पुरक आरोपपत्रको रूपमा सोमबार थुनछेक आदेश भएको मुद्दा दर्ता गराएको थियो । कान्तिपुर डेलि बाट

२०७८ आश्विन ११, सोमबार १२:४५ 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।