
काठमाडौँ । प्रहरीले बैंकिङ कसुरको मुद्दामा दुई करोड रुपैयाँ जरिवाना तथा कैद सजाय पाएका व्यक्तिलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ घर भई बारा सिमरा उपमहानगर बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँग समन्वय गरी शनिबार पक्राउ गरी काठमाडौं ल्याएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उनीविरूद्ध बैंकिङ कसुरमा तीन वटा मुद्दाको सजाय बेरूजु छन्। पहिलो मुद्दामा उनीविरूद्ध रवीन्द्र थापाको जाहेरी दिएका थिए। सो मुद्दामा गत मंसिर २२ गते उच्च अदालत पाटनले कृष्णबहादुर थापालाई एक करोड २५ लाख रुपैयाँ जरिवाना र १७ दिन कैद सजाय सुनाएको थियो।
अर्को मुद्दाको जाहेरी पनि थापाले नै दिएका थिए। सो मुद्दामा उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय सुनाएको महाशाखाले जनाएको छ।
तेस्रो मुद्दामा कृष्णबहादुरविरूद्ध राजन श्रेष्ठले बैंकिङ कसुरको मुद्दामा जाहेरी दिएका थिए। २०७३ माघ ६ गते काठमाडौं जिल्ला अदालतले १७ लाख रुपैयाँ भरपाई गराउने र त्यसको ब्याज समेतको बिगो दाखिला गर्न आदेश दिएको थियो।
तर उनी फरार थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतले २०७५ असार १९ गते एक वर्ष कैद सजाय सुनाएको थियो। तीन वटा मुद्दाको सजाय बेरुजु रही फरार रहेका कृष्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। सजाय कार्यान्वयनको लागि प्रहरीले उनलाई काठमाण्डौ जिल्ला अदालत, काठमाडौंमा पठाएको छ।