२०७९ भाद्र १
  • काठमाडौँ

बाटो छैन, बजारमा स्याउ कसरी पुर्‍याउने ?

मनाङ । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष

लस्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताए । उनले भने “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।”

उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा ४० लाख क्षति भएको छ। उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन्।यस पटकको बाढी पहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङ बताए ।

उनले भने “दशैंँ अगाडि सम्म सडक सुचारु भएमा स्याउ पु¥याउन सकिन्छ कि भन्ने आशा जागेको छ । ” एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनु पर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताए ।

“गत वर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यसवर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौं । सोही अनुसार प्याकिङको काम थालेका छौं । सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौ ।” उनले भने।

सडक मर्मत जारी : यसै बीच डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोज सम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिए ।

मर्मत तथा सम्भार र निर्माण जारी रहेको उनले बताए। “सडक मर्मत तथा सम्भार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाही भएकै हो ।”, उनले भने।

उनका अनुसार अगामी दशैँं अगावै जिल्ला सदरमुकाम सम्म सवारी सञ्चालन गर्ने योजना सहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइ रहेको उनले बताए । सो सडक खण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बेँशीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए। उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुनबाँकी छ। माथिल्लो र तल्लो मनाङ लाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ ।

खबर हावस बाट

२०७८ भाद्र ३१, बिहीबार २३:२३ 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।