
मोरङमा भिन्दाभिन्दै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
मोरङको धनपालथान गाउँपालिका—७ कदमाहा का ३२ वर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउसो पौने ११ बजे घरदेखि ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१८ खोक्साहा का २८ वर्षीय पप्पुकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलका मजदुर मण्डलको मृत्यु भएको हो ।
मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गरिरहेको छ ।
यस्तै, मोरङको विराटनगरका मलामी गएका एक युवालाई सिङ्घिया खोलाले बगाएर शुक्रबार दिउँसो बेपत्ता बनाएको छ । विराटनगर महानगरपालिका–१० का २८ वर्षीय सुमन मण्डल बेपत्ता भएका हुन् ।
मलामी गएपछि घर फर्कने बेलामा नुहाउन पसेका बेला मण्डललाई बाढी आएको खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । उनलाई विराटनगर महानगरपालिका–७ स्थित सिंघिया घाटबाट खोलाले बगाएको प्रहरीले जनाएको छ । ktm दैनिकी बाट