२०७९ श्रावण ३१
  • काठमाडौँ

भारतमा अज्ञात ज्वरोका कारण सयौं बालबालिका प्रभावित, दर्जनौँको मृत्यु

एजेन्सी । नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउँझिने समस्याबाट पीडित छन्।

तीमध्ये धेरै जनामा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ। केहीको भने हातखुट्टामा डाबर आएको पाइन्छ।

उत्तर प्रदेशभित्र पूर्वतिरका छ जिल्लामा अधिकांश बालबालिकासहित कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ भने केही सय बिरामी अस्पताल भर्ना भएका छन्। मृत्यु भएका कसैलाई पनि कोभिड भएको थिएन।

कोरोनाभाइरसको घातक दोस्रो लहरबाट भारत बिस्तारै मुक्त हुँदै गरेको समयमा उत्तर प्रदेशमा भएको मृत्युलाई सञ्चारमाध्यमहरूले “अज्ञात ज्वरो”ले भारतको सबैभन्दा सघन बस्ती भएको राज्यका गाउँहरूलाई आक्रान्त पारेको रूपमा प्रस्तुत गरेका छन्।

आगरा, मथुरा, मैनपुरी, एटा, कासगन्ज र फिरोजाबादका चिकित्सकहरू मृत्युको मूल कारण लामखुट्टेबाट सर्ने भाइरसको सङ्क्रमण डेङ्गी भएको विश्वास गर्छन्।

उनीहरूका अनुसार धेरै बिरामीहरू रगत जमाउन सहयोग गर्ने एक प्रकारको रक्त कोष प्लेट्लेटको सङ्ख्या कम हुने अवस्थामा भर्ना गरिएको छ। यो लक्षण डेङ्गी भएका गम्भीर बिरामीहरूमा देखिन्छ।

“अस्पताल आएका बिरामीहरू विशेषगरी बालबालिकाहरूको निकै छिटो मृत्यु भइरहेको छ,” फिरोजाबाद जिल्लाका वरिष्ठतम चिकित्सक डा. नीता कुलश्रेष्ठ भन्छिन्। फिरोजाबादमा गत साता ३२ बालबालिकासहित ४० जनाको यही समस्याका कारण निधन भएको थियो।

पोथी लामखुट्टेले सार्ने उष्णप्रदेशीय रोग डेङ्गी भारतमा सयौँ वर्षदेखि छ।

विश्वभरि १०० देशमा देखिने यो रोगका ७० प्रतिशत बिरामी एशियामा हुन्छन्। डेङ्गीका चार भाइरस छन् र दोस्रो पटक सङ्क्रमण हुँदा बालबालिकाको मृत्यु हुने सम्भावना वयस्कमा भन्दा पाँचगुना बढी हुन्छ।

डेङ्गी सार्ने लामखुट्टेले घर वरपर सफा पानीमा प्रजनन गर्छ। “मानिसले यो लामखुट्टेको प्रजनन स्थान बनाउँछन् र मान्छेले मात्रै त्यसलाई कम गर्न सक्छन्,” लामखुट्टेबाट सर्ने भाइरसका विशेषज्ञ डा. स्कट हाल्स्टीड भन्छन्।

प्रत्येक वर्ष विश्वभरि डेङ्गीबाट १० करोड मानिस गम्भीर बिरामी पर्छन्।

“कोभिड-१९ र डेङ्गीको एकीकृत असर जोखिममा रहेका मानिसमा ज्यादै विनाशकारी हुनसक्छ,” विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

उत्तर प्रदेशमा अधिकांश बालबालिकासहित गत साता कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ तर भारतको उत्तर प्रदेशमा देखिएको ज्वरोसम्बन्धी मृत्युको कारण डेङ्गी भए नभएको स्पष्ट छैन।

बीस करोड जनसङ्ख्या भएको राज्यमा कमजोर फोहोर व्यवस्थापन, धेरै बालबालिकामा कुपोषण र फितलो स्वास्थ्य सेवाका कारण बर्सेनि वर्षा यामपछि अज्ञात ज्वरोका बिरामीहरूको खबर आउँछ।

लामखुट्टेकै कारण हुने जापानिज इन्सेफलाइटिसका कारण उत्तर प्रदेशमा सन् १९७८ यता ६,५०० जनाको मृत्यु भइसकेको छ। यो रोग विशेषगरी गोरखपुर र नेपालसँग सीमा जोडिएका स्थानबाट फैलने गरेको छ।

नेपालका बाढीग्रस्त क्षेत्रहरू यो रोग सार्ने लामखुट्टेको वासस्थान हो।

सन् २०१३ मा सुरु भएको खोप अभियानका कारण यो कम भएको छ तर यो वर्ष मात्रै गोरखपुरमा १७ बालबालिकाको मृत्यु भइसकेको छ भने ४२८ जना सङ्क्रमित भइसकेका छन्।

सन् २०१४ मा बालबालिकाको इन्सेफलाइटिस र मुटुको सुजनबाट धेरै मृत्यु हुन थालेपछि वैज्ञानिकहरूले गोरखपुरका २५० बालबालिकाको परीक्षण गरेका थिए। तीमध्ये १६० जनामा स्क्रब टाइफसको ब्याक्टेरियाको एन्टिबडी भेटिएको थियो।

स्क्रब टाइफस मुसाको टोकाइबाट सर्ने ब्याक्टेरियाको सङ्क्रमण हो।

ती मुसाहरू मनसुनपछि सप्रिएका घाँसपातमा बस्छन् र वैज्ञानिकहरूले गाउँलेहरूले थुपारेका दाउरामा पनि ती मुसा फेला पारेका छन्। धेरैजसो अवस्थामा खुला स्थानमा दिसा बस्दा वा दाउरा चलाउँदा मुसाले टोक्ने बताइन्छ।

एक अर्को अध्ययनमा वैज्ञानिकहरूले उत्तर प्रदेशमा छ जिल्लामा सन् २०१५ देखि २०१९ सम्म डेङ्गी र स्क्रब टाइफस नै मनसुनपछि हुने ज्वरोको प्रमुख कारक भएको पत्ता लगाएका थिए। त्यस्तै ब्याक्टेरियाले हुने अर्को घातक सङ्क्रमण लेप्टोस्पाइरोसिस र लामखुट्टेले सार्ने चिकन्गुनियाका कारण पनि उत्तर प्रदेशमा ज्वरोका बिरामीहरू देखिने तथ्याङ्क छ।

“त्यसैले त्यो क्षेत्रमा मनसुनपछि ज्वरो आउने थुप्रै रोगहरू छन्। ती रोगहरूको पहिचान र निदानका लागि राम्रो निगरानी प्रणाली चाहिन्छ,” न्याश्नल इन्स्टिट्यूट अफ मेन्टल हेल्थ एन्ड न्यूरोसाइन्सका भाइरसविज्ञ प्राध्यापक भी रवि भन्छन्।

सन् २००६ मा अज्ञात ज्वरोका कारण उत्तर प्रदेशमा भएको बालबालिकाको मृत्युको अध्ययन गरिँदा ती बालबालिकाले एक प्रकारको जङ्गली कोसा खाएको पत्ता लागेको थियो।

यी कारणहरूले गर्दा अहिले देखिएको अज्ञात ज्वरोको कारण डेङ्गी हो वा अन्य केही हो भन्ने पत्ता लगाउन सहजै नसकिने अवस्था रहेको बताइन्छ।

यो पत्ता लगाउन थप परीक्षणहरू गर्नुपर्ने र त्यसका लागि स्थानीय अस्पतालहरूलाई नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालाहरू पठाउन लगाउनु पर्ने बताइन्छ।

२०७८ भाद्र १७, बिहीबार १०:३१ 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।