२०७९ असार १४
  • काठमाडौँ

पो चा : लेकाली भेगमा पाइन्छ यति स्वादिलो चिया

समुद्री सतहबाट ३२०० मिटरको उचाइमा रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको सीमामा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको कर्साङ दावाको याक गोठभित्र नुन चियाको लागि

पेमागुलबाट ल्याएको चिया उमालिँदै थियो । बाहिर हुस्सु लागेर नजिकैको दृश्य पनि देख्न मुस्किल थियो । भित्र भने आगोको रापले चिसो भुलाउने न्यानो मौसम । साथमा नुनचियाको उस्तै न्यानो स्वागत पनि ।

कर्साङ तिब्बती चियापत्तिलाई पानीमा उमालेर त्यसमा सुनपातीको फूल हाल्दै थिए । नुनचियाले लेक लागेको निको गर्ने मात्रै होइन पोषण र स्वादको लागि पनि उस्तै प्रभावकारी हुन्छ भन्ने उनको बुझाइ थियो ।

त्यसो त त्यो नुन चिया त्यहाँ मात्रै नभएर हिमाली भेगको सबै क्षेत्रमा लोकप्रिय र पाहुनालाई अनिवार्य खुवाइने पेय पदार्थ हो । २४७० मिटरको उचाइमा रहेको कुटुङसाङको ‘गोसाइकुण्ड होटल’मा छिर्ने बित्तिकै होटलकी सञ्चालिका येन्जोङ ह्याल्मोले नुन चिया दिएर होटलमा स्वागत गर्छिन् । चिया बनाउने परम्परागत शैली ह्याल्मो र कर्साङ उस्तै थियो ।। सत्कारको शैली पनि उस्तै । बस् क्षेत्र फरक थियो ।

के हो र कस्तो हुन्छ नुन चिया ?

हिमाली भेगमा जाने जोकोहीले पनि अनुभव गर्ने नयाँ टेस्ट हो नुन् चिया वा भोटे चिया । यो चिया गुलियो नभएर नुन हालेर बनाइने भएकोले यसलाई नुन चिया भनिएको हो । तर यसलाई तिब्बतमा पो चा भनिन्छ । यो नेपालको हिमाली भेग र तिब्बतको साझा संस्कृति हो ।

यो चियामा पहिले पहिले हिँगुवा मिसाएर भोटे चिया बनाउने चलन रहेको बताउँछन् । स्थानीय कर्साङका अनुसार हिँगुवा चिया प्रजातिको एक वनस्पति हो । यो सिक्किम, भुटान, बर्मा र दक्षिण पश्चिम चिनियाँ प्रान्तमा पाइने एक किसिमको वनस्पति हो । नेपालको उच्च हिमाली भेगमा पनि यसैको मिसावटमा चिया बनाउने चलन छ ।

भोटे चिया अहिले काठमाडौंकै गुम्बाहरुमा पनि भोटबाट आएकाहरुले पिउने गर्छन् । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो बालापनको समयताका काठमाडौंमा चिया खाने खासै चलन नभएको बताउँछन् ।

भोटबाट आएकाहरुले भोटे चिया ल्याएर दिन्थे । कसैकसैले त्यो खाने गर्थे । अहिलेप्रयोग भएजस्तै चियाको चलन त प्रजातन्त्र आएको पनि निकै पछि मात्रै सुरु भएको हो । त्यसभन्दा पहिले काठमाडौं क्षेत्रमा समेत यस्तै भोटे चिया खुवाउने चलन थियो ।

हिमाली क्षेत्रमा भोटे चियालाई नूनसँग धेरैबेर उमालेपछि विशेष प्रकारको ढुङ्ग्रोमा चौरीको घ्यूसँग मथेर सेवन गर्ने÷गराउने चलन छ ।

आवश्यक सामग्री

-४ कप पानी (आवश्यकता अनुसार)– तिब्बती चियापत्त-साधारण चिया चम्चाको एक चौथाइ नुन– २ वटा ठूलो चम्चाको बटर-आधा वा एक चौथाइ कप चिया– मदानी-चिया कप-सुनपातीको फूल

नुन चिया बनाउने प्रक्रिया

हिमाली भेगमा पो चा बनाउने परम्परागत र आधुनिक तरिकाहरु छन् । चिया बनाउने परम्परागत प्रक्रियाहरु लामो र जटिल खालको हुन्छ । यसलाई हिमाली भेगमा नुन चिया भन्छन् भने पहाडी भेगमा भोटे चिया भन्ने गरिन्छ । यसलाई तिब्बतमा पेमागुल भन्ने गरिन्छ । यसमा चौरीको दूध र नौनी राखेर चिया बनाउने गरिन्छ । त्यसमा तिब्बती चिया र पानी मिसाइन्छ ।

पेमागुल क्षेत्रमा पाइने चियापत्तीलाई गाढा र खैरो रंगको नहुन्ज्यालसम्म उमालेर बनाउने भएकोले तिब्बततिर यसलाई पेमागुल पनि भन्ने गरिन्छ ।

यसरी चिया पकाएर गाढा र खैरो रंगको बनेको झोललाई मौलिक खालको मदानीमा राखेर घोलिन्छ । यो त्यतिबेलासम्म घोलिन्छ जतिबेला बटर, चियाको झोल र दूध एकआपसमा राम्रोसँग मिश्रण हुँदैन । यसरी तयार पारेको नुन चिया हरेक हिमाली क्षेत्रको साझा परिकार बनेको छ । यो चिया एक कपमात्रै पिइँदैन । यो एकै बसाइमा ४÷५ कपसम्म पिउने गरिन्छ ।

२०७८ भाद्र ९, बुधबार ०७:०२ 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार