२०७९ असार १४
  • काठमाडौँ

६ महिनादेखि नेपालमा किन रोकिइरहेछन् दुई किर्गिस्तानी हेलिकप्टर ?

विगत ६ महिनादेखि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा किर्गिस्तानका २ वटा एमआई १७ हेलिकप्टर पार्किङ गरी राखिएको छ । दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागि भन्दै काठमाडौँ आइपुगेको २ किर्गिस्तानी हेलिकप्टर जनवरी १ तारिखदेखि काठमाडौँमा अलपत्र छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा बङ्गलादेशबाट काठमाडौँ आइपुगेको दुई एमआई १७ हेलिकप्टर त्रिभुवन विमानस्थलमा रोकिएका हुन् । सुरुमा बङ्गलादेशबाट नेपाल हुँदै दिल्ली जाने र २ दिन क्रु रेष्टका लागि भन्दै ती हेलिकप्टर काठमाडौँ आइपुगेका थिए ।

सुरुमा २ दिनका लागि अनुमति लिएर नेपाल आइपुगेका ती हेलिकप्टर पछि १० दिनको समय मागेर नेपाल बसेका थिए । दिल्लीका कोभिड संक्रमण बढेको भन्दै ती हेलिकप्टर काठमाडौँमै थन्किएका थिए । तर त्यहीबीचमा हेलिकप्टरका क्रु मेम्बरलाई भने किर्गिस्तान पठाइएको थियो । त्यसपछि पनि १५ दिन समय थप गरेर बसिरहेको थियो ।

किर्गिस्तानबाट बंगलादेशको बाटो हुँदै दिल्ली जान भन्दै काठमाडौँ आइपुगेको हेलिकप्टर काठमाडौँमै रोकिएपछि शङ्का लागेर नेपाल नागरिक उड्डयन प्राधिकरणले किर्गिस्तानस्थित उड्डयन प्राधिकरणलाई पत्र लेखि काठमाडौँ आउनुको कारण सोधेको थियो । साथै नेपालबाट उक्त हेलिकप्टर लैजान आग्रह पनि गरिएको थियो ।

तर हेलिकप्टरमा समस्या भएको कारण मर्मत गर्नुपर्ने भन्दै पार्किङका लागि समय थप गरिदिन किर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

रसियाको कजान हेलिकप्टरले निर्माण गरेको एमआइ–८ एमटिभी १ मोडलका एमआई १७ हेलिकप्टरहरू इएक्स–०८०२३ र इएक्स–४०००७ कल साइनका हुन् । इएक्स–०८०२३ कालसाइनको हेलिकप्टर सन् १९९१ अप्रिल ११ मा बनेको हो भने इएक्स–४०००७ कल साइनको हेलिकप्टर सन् १९९१ मार्च ३ मा बनेको हो । ३० वर्ष पुरानो हेलिकप्टर कुन प्रयोजनका लागि नेपाल ल्याइएको थियो भन्ने यकिन भएको छैन ।

थोत्रा हेलिकप्टर नेपालमा दर्ता नहुने भएपछि फिर्ता लजाँदै

पर्यटन मन्त्रालय श्रोतले भने किर्गिस्तानबाट ल्याइएका ती हेलिकप्टरहरू नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न नेपाल ल्याइएको थियो । करिब १२ वर्षदेखि सेवा बन्द भएको एक नेपाली हेलिकप्टर कम्पनीले ती हेलिकप्टर किन्ने भन्दै नेपाल ल्याइएको थियो ।

उक्त कम्पनीले पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पटक पटक खरिद र सञ्चालन अनुमतिका लागि आग्रह गरेको मन्त्रालय श्रोतको भनाई छ ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई नीतिमा नेपालमा २० वर्षभन्दा पुरानो हेलिकप्टर वा जहाज खरिद गरी ल्याउन नपाइने उल्लेख छ । नेपालमा सञ्चालनमा रहेका हेलिकप्टर र जहाजहरू नियमित मर्मत सम्भार गरी चलाउन पाइने भए पनि २० वर्षभन्दा पुराना जहाजहरू खरिद गरी नेपालमा दर्ता गर्न निषेध गरिएको छ । जसका कारण ती हेलिकप्टरलाई नेपालमा दर्ता र सञ्चालन गर्न दिन नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

नेपालमा दर्ता पनि नहुने र सञ्चालनको अनुमति पनि नहुने भएपछि ६ महिनापछि ती हेलिकप्टरहरू किर्गिस्तान फर्कने क्रममा रहेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिले किर्गिस्तानबाट पाइलट र प्राविधिकसमेत नेपाल आइसकेका छन् । हाल ती हेलिकप्टरहरू चेकजाँचका क्रममा रहेको र नेपालबाट लैजाने अनुमतिसमेत लिइसकेका छन् ।

६ महिनासम्म नेपालमा पार्किङ गरेबापत ती हेलिकप्टरले २१ हजार २०१ अमेरिकी डलर तिरेको पनि प्रवक्ता क्षेत्रीले बताए ।

एमआई १७ हेलिकप्टर मुख्यतः सैनिक अभ्यास, सैनिक प्रयोजन र सामान बोक्ने प्रयोजनमा प्रयोग हुन्छ । केही स्थानमा यात्रु ओसारपसारका लागि पनि प्रयोग गरिएको पाइएको छ । तर अत्यधिक ध्वनिका कारण ती जहाजमा यात्रु ओसारपसार गर्न भने कठिन नै हुन्छ ।रातोपाटी बाट

२०७८ असार १४, सोमबार १६:५७ 0 Minutes 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार