२०७९ असार १५
  • काठमाडौँ

कालीगण्डकी–तिनाउ डाइभर्सनः तटीय क्षेत्र मरुभूमि बन्ने, नदीको धार्मिक महत्व गुम्ने

गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ला हुँदै बगिरहेको कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा खसाल्ने उद्देश्य सहित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु हुन थालेको भन्दै सर्वत्र चाँसो बढेको छ । शनिबार बुटवलमा आयोजना कार्यालय उद्घाटन गरेपछि यो आयोजनाबारे चर्चा चुलिएको छ ।  

गण्डकी प्रदेश सरकारले यसको खुलेरै विरोध गरेको छ । कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहका पदाधिकारीले कुनैपनि हालतमा आयोजना अघि बढ्न नदिने उद्घोष गरिसकेका छन । कालीगण्डकीको पानीलाई डाइभर्सन गरेर तिनाउमा खसाल्दा यसले खासमा के असर गर्छ त ? यसका अध्येता भन्छन, ‘धार्मिक तथा सांस्कृतिक महत्वसँगै पूर्वाधारमा पनि यसले प्रयाप्त असर पार्छ । यसले तटीय क्षेत्रलाई मरुभुमि बनाउँछ ।’

कालीगण्डकीका अध्येता कुलराज चालिसेका अनुसार सबैभन्दा बढी यसले धार्मिक तथा सांस्कृतिक महत्व राख्छ । हिन्दु धर्मशास्त्र अनुसार कलिको ५ हजार वर्ष पछाडि विश्वका सबै तीर्थस्थलका देवीदेवता कालिगण्डकीको शालिग्राममा बास बस्ने भएकोले यसको धार्मिक महत्व छ ।

त्यस्तै विश्वको एकमात्र शालिग्राम पाइने नदी पनि कालिगण्डकी भएकोले यसलाई नोक्सान गर्नु हुँदैन । कालीगण्डकी उद्गमस्थल मुस्ताङदेखि देवघाटसम्म शालिग्राम पाइन्छन । मुस्ताङमा बढी र बीचमा केही कम पाइएपनि राम्दीदेवि देवघाटसम्म पर्याप्त मात्रामा शालिग्राम पाइन्छन् ।

‘शालिग्रामको बासस्थान भएकोले पनि नदीको पानी डाइभर्ट गर्न हुँदैन,’ चालिसेले भने । मुस्ताङको दामोदरकुण्डबाट कालीगण्डकी बगेर आउँदै गर्दा जल देवघाटमा मिसिएकोले पनि यसको धार्मिक महत्व रहेको उनले सुनाए । त्यसबाहेक देवघाटको महत्व कालिगण्डकीको कारणले बढाएको उनको भनाई छ ।  

त्यस्तै पानी डाइभर्सन गर्दा इकोलोजिकल असर पर्ने उनले बताए । कालीगण्डकी नदीको पानीले दायाँबायाँका क्षेत्रमा सिंचित गरेको हुनाले डाइभर्ट हुँदा त्यो क्षेत्र सुख्खा हुनेछ । ‘खोलाको वहाव नापेर हुँदैन, जमिनभित्र पनि कालीगण्डकीको पानी घुसेको छ ।

जमिनको भित्रभित्र पानी घुसेकोले त्यो क्षेत्र सुख्खा बनाउनु हुँदैन,’ चालिसेले भने, ‘नदी सुख्खा भएर माटोभित्रको पानी सुक्नासाथ खोलाछेउछाउका जरुवा सुक्छन । त्यो सुक्नु भनेको गाउँ मरुभुमि बन्नु हो ।’  

चालिसेका अनुसार शालिग्रामको कार्बन डेटिङ र सेडिमेण्ट अनुसन्धान गर्दा दुई करोड वर्ष अगाडि हिमाल उठेको र तेथिससागर लुप्त भएको तथ्य उजागर भएकोले कालीगण्डकीको वहाव परिवर्तन गर्नु हुँदैन ।

‘विश्वका अन्वेषणकर्ताका लागि मात्र नभई विद्यार्थीले अवलोकन गर्ने प्रमुख आकर्षण क्षेत्रे पनि हो,’ उनले भने, ‘दुई करोड वर्ष अघि नै त्यहाँको डाइभर्सिटि कस्तो थियो भनेर बुझाउन यो अध्ययन क्षेत्र बन्न सक्छ ।’ गण्डकी प्रदेशको पर्यटकीय सम्भावना नास्ने अधिकार लुम्बिनी प्रदेशको त कुरै छोडौ संघीय सरकारसँग पनि नभएको उनले बताए ।

२०७८ असार १४, सोमबार ०१:३४ 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार