२०७९ श्रावण २६
  • काठमाडौँ

जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री

२५ जेठ, काठमाडौ । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका छन् ।

यो पनि
६० देखि ६४ वर्ष उमेर समूहलाई लक्षित गरी सरकारले मंगलबारबाट देशभर खोप अभियान सञ्चालन गरेको भए पनि गोरखाका अधिकांश स्थानीय तहमा भने सुरु हुन सकेको छैन । खोपको मात्रा कम भएको भन्दै स्थानीय तहले स्वास्थ्य कार्यालयबाट उपलब्ध गराइएको खोप लगेका छैनन् ।

संकलित तथ्यांकको ५० प्रतिशतलाई पनि पुग्ने खोप उपलब्ध नहुँदा समस्या भएको स्थानीय तहका प्रमुखहरुको गुनासो छ ।

गोरखा नगरपालिकाले सोमबार सूचना जारी गर्दै खोपको मात्रा अपुग हुने भएकाले अभियान सञ्चालन गर्न नसकिएको जनाएको छ । करिब २२ सय जनालाई खोप आवश्यक पर्ने भए पनि ६७८ डोज मात्र उपलब्ध भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

‘एक त खोपको मात्रा नै कम आयो, कसलाई लगाउने कसलाई नलगाउने भयो,’ उनले भने, ‘अब ६४ वर्ष उमेर समूहबाट शुरु गर्ने भनेर परिपत्र आएको छ, त्यसका लागि पनि अध्यावधिक विवरण संकलन गर्न केही दिन लाग्छ ।’

१ हजार १७८ डोज खोप आवश्यक पर्ने भीमसेन थापा गाउँपालिकाका लागि २७८ डोज मात्र छुट्याइएको छ । लक्षित समूहको एक तिहाइलाई पनि खोप नपुग्ने भएपछि अभियान चलाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल बताउँछन् ।

‘अभियान सञ्चालन गरेपछि नाम टिपेका सबै मान्छे खोप लगाउन आउँछन्, कसलाई दिने कसलाई नदिने, अहिले ६४ वर्षकालाई मात्र दिने भने पनि अरु रिसाउँछन्, समस्या छ,’ उनले भने ।

सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठका अनुसार गाउँपालिकाका लागि ३१० डोज खोप मात्र छुट्याइएको छ । तर संकलित तथ्यांक अनुसार १ हजार ७ शय ५९ जनालाई खोप लगाउनुपर्ने छ ।

‘अहिले एउटा वडामा मात्र सञ्चालन गरौं भने पनि अन्य वडाका अध्यक्षहरु रिसाउँछन्, फेरि अहिले ३१० जनालाई खोप दिएर पछि बाँकी खोप आएन भने अरुलाई के जवाफ दिने, साह्रै समस्यामा परिएको छ,’ श्रेष्ठले भने ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार मंगलबार शहीद–लखन गाउँपालिकामा मात्र खोप अभियान सञ्चालन भएको छ । ‘सबै ठाउँमा आजैबाट शुरु गर्नुपर्ने हो,’ कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने, ‘तर एउटा पालिकामा मात्र चलेको छ, बारपाक सुलिकोट, अजिरकोट र धार्चे गाउँपालिका खोप लिन आउँछु भने पनि अरु पालिकाले केही जानकारी गराएका छैनन् ।’

कुल ३ हजार ४६१ डोज खोप उपलब्ध भएको उनले बताए । लक्षित संख्या भने ६ हजार ९७२ रहेको उनको भनाइ छ । ‘अहिले भेरोशिल्ड खोप दिने हो, पछि यो आउँछ वा आउँदैन भन्ने एकिन छैन त्यसैले अहिले पहिलो डोज लगाएकाहरुका लागी दोस्रो डोज पनि सुरक्षित राखिएको छ,’ उनले भने ।

अपुग खोप प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत संघसँग माग गरिसकिएको उनले बताए । उनका अनुसार चुमनुव्री गाउँपालिकाका ५५ वर्ष माथिका नागरिकलाई यसअघि नै खोप उपलब्ध गराइसकिएको छ ।अनलाइन खबर बाट

२०७८ जेष्ठ २५, मंगलवार ०८:२३ 0 Minutes 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।