२०७९ श्रावण २६
  • काठमाडौँ

ज्ञानेन्द्र शाही लगायतको टोलीले २० करोडको निःशुल्क स्वास्थ्य सामाग्री अभियान, पोखरामा ३० लाखको सामाग्री वितरण

पोखरा :बोधीसत्वा विहार संस्थाको सहयोगमा देशभर करिब २० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री निःशुल्क प्रदान गरिने भएको छ । सामाजिक अभियन्ता शान्त शर्माको संयोजनमा अभियन्ता ज्ञानेन्द्र शाही लगायतको टोलीले संस्थाबाट प्राप्त स्वास्थ्य उपकरण तथा सामाग्रीहरू देशैभर वितरण गर्ने भएका हुन् ।

कोरोना संक्रमणको जटिल अवस्थामा बोधीसत्वा विहार संस्थाको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर , पिपिई औषधि, मास्क, स्यानिटाइजर, फेसशील, अक्सिमिटर लगायतका २० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री विभिन्न सामाजिक अभियन्ता तथा व्यक्तिहरूको साथ र समर्थनमा देशभर वितरण गर्न लागिएको संयोजक शान्त शर्माले बताउनुभयो ।

‘हामीले करिब २०० वटा आइसियु बेड, ५० वटा भेन्टिलेटर, ७२० वटा अक्सिजन कन्सन्ट्रेटर लगायतका यी स्वास्थ्य सामाग्रीहरू देशका विभिन्न भूभागमा पुर्‍याएर वितरण गर्दछौँ’, संयोजक शर्माले भन्नुभयो । हाल रु १० करोड हाराहारीका स्वास्थ्य सामाग्रीहरू मध्ये केही प्राप्त हुने क्रममा रहेको र अधिकांश सामाग्रीहरू विभिन्न क्षेत्रमा वितरण भइरहेको उहाँले बताउनुभयो ।

‘लगभग थप १० करोड मूल्य बराबरका सामग्रीहरू संस्था मार्फत प्राप्त हुँदैछन, हालसम्म प्राप्त भएका उपकरण तथा सामग्रीबाट कास्की, गोरखा, नवलपुर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, दोलखा र धादिङ लगायतका स्थानमा वितरण गरिसकेका छौँ ‘, शर्माले भन्नुभयो ।

नि:शुल्क उपचार गराउने निजी, सरकारी अस्पताल तथा सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने उद्देश्यले चितवन ,नवलपरासी, लुम्बिनी, दाङ, सुर्खेत, जुम्ला, मुगु, सुर्खेत, महेन्द्रनगर लगायतका स्थानमा अभियन्ताहरूको टोली खटिन लागेको अभियन्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो । उहाँले जेठ ३० गतेदेखि असार ६ सम्म दार्चुला ,बैतडी ,बझाङ ,डोटी , अछाम, बाजुरासहित आसपासका जिल्लाहरूलाई स्वास्थ्य उपकरण र सामाग्रीहरूका लागि सम्पर्क गर्न आग्रह गरिएको उल्लेख गर्नुभयो ।

पोखरामा करिब ३० लाखको स्वास्थ्य सामाग्री वितरण

बोधीसत्वा विहार संस्थाले कास्की जिल्लाका लागि पोखरामा पठाएका करिब ३० लाखको स्वास्थ्य सामाग्री यस क्षेत्रमा वितरण गरिएको यस क्षेत्रमा संयोजनको जिम्मा लिएका दिननाथ बरालले बताउनुभयो । संस्थाबाट प्राप्त २० वटा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामाग्री बिहीबारदेखि वितरण गरिएको पोखरा संयोजक बरालले बताउनुभयो ।

पोखरामा रहेका तीन वटा सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल (पोखरा-२७), कास्कीका चार गाउँपालिका, पोखरा – २२ को स्वास्थ्य चौकी, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकी प्रदेश सहितका विभिन्न संघ संस्थालाई प्राप्त स्वास्थ्य सामाग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

पोखराका तीन सामुदायिक अस्पताललाई जनही १० लिटरको २/२ र ५ लिटरको ३÷३ वटा गरी ५÷५ वटा अक्सिजन कन्सन्ट्रेटर १०० का दरले पिपिई सेट, एक/ एक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फेसशील, अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको बरालले बताउनुभयो ।

सामाजिक वाल अभियन्ता प्रेन्सा रेग्मी, पोखरेली युवा व्यवसायी श्याम शेरचनले पोखरा महानगरका मेयर मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा.भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा.विकास गौचनलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बरालले जानकारी दिनुभयो ।

त्यसै गरी सामग्रीहरू केही निकाय तथा संघ संस्थालाई बिहीबार तथा केहीलाई शुक्रबार वितरण गरिने उहाँले बताउनुभयो ।स्रोत पोखरा न्युज बाट

२०७८ जेष्ठ २१, शुक्रबार १८:१७ 1 Minute 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।