२०७९ असार १५
  • काठमाडौँ

संसारका सबैभन्दा धनी व्यक्ति मनसा मुसा को हुन् ? जसको सम्पत्ति ‘वर्णन गर्न सकिँदैन’

काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति को हुन् ? अहिले यो सूचीको शीर्ष स्थानको लागि २ जना अर्बपतिबीच प्रतिस्पर्धा चलिरहेको छ । अमेरिकी अर्बपति जेफ बेजोस र फ्रेन्च अर्बपति बर्नार्ड आर्नल्टबीच विश्वको सबैभन्दा धनी को बन्ने भन्ने विषयमा प्रतिस्पर्धा चलिरहेको छ । तर, पृथ्वीमा सबैभन्दा धनी व्यक्ति भने यिनीहरु होइनन् । खासमा अहिलेसम्म पृथ्वीमा बाँचेका व्यक्तिहरुमध्ये सबैभन्दा धनी व्यक्ति अफ्रिकी राजा मनसा मुसा भएको विश्वास गरिन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका एसोसिएट प्राध्यापक रहेका रुडोल्फ बुच वेयरले बीबीसीसँग कुरा गर्दै भनेका थिए ‘मुसाको सम्पत्तिको समकालीन विवरण यतिसम्म अविश्वसनीय थियो उनी कति धनी र कति शक्तिशाली थिए भन्ने बुझ्न लगभग असम्भव छ ।’ अर्का अनुसन्धानकर्ता ज्याकब डेभिडसनले मुसा पृथ्वीकै सबैभन्दा धनी व्यक्ति भएको बताउँदै ‘मुसा कसैले वर्णन गर्न सक्नेभन्दा धेरै धनी भएको’ लेखेका थिए ।

सन् २०१२ मा सेलिब्रेटी नेटवर्थले राजा मुसाको अनुमानित सम्पत्ति ४०० बिलियन डलर अनुमान गरेको थियो । यो अहिले विश्वका सबैभन्दा धनीको शीर्ष स्थानमा रहन प्रतिस्पर्धा गरिरहेका जेफ बेजोस र बर्नार्ड आर्नल्ट दुवैको सम्पत्ति मिलाउँदा हुने सम्पत्तिभन्दा पनि बढी हो । तर, कैयौं इतिहासकारहरु यो अनुमानलाई पनि सही मान्दैनन् । उनीहरुका अनुसार मुसासँग यति धेरै सम्पत्ति थियो कि त्यो सम्पत्तिलाई कुनै संख्यामा सीमित गर्नु लगभग असम्भव छ ।

१४ औं शताब्दीमा पश्चिम अफ्रिकाका शासक रहेका मुसाको जन्म १२८० मा भएको थियो । उनका दाजु मनसा अबु बकरले १३१२ सम्म शासन गरेका थिए । १४ औं शताब्दीका सिरियाली इतिहासकार शिबाब अल उमरीका अनुसार अबु बकर एटलान्टिक महासागर र त्योभन्दा पारीको संसारका विषयमा निकै उत्सुक रहन्थे । मनसा अबु बकरले २ हजार जहाज र हजारौं पुरुष, महिला र दासहरुको समूहको साथमा त्यहाँ जाने निर्णय गरेका थिए । तर, गएपछि उनी कहिल्यै फर्केर आएनन् ।

दाजु नफर्केपछि १३१२ मा मनसा मुसा राजा भएका थिए । उनको शासनकालमा मालीमा निकै विकास भएको थियो । मुसाले २४ भन्दा धेरै शहरमा कब्जा गरेका थिए । उनको साम्राज्य २ हजार माइलसम्म फैलिएको थियो । मुसाको साम्राज्यमा सुन र नुनजस्ता महत्वपूर्ण संसाधनको भण्डार थियो । ब्रिटिस संग्रहालयका अनुसार मनसा मुसाको शासनकालमा मालीको साम्राज्यमा प्राचीन विश्वभरी भएको सुनको करिब आधा भाग थियो र यो सबै सुन मुसाको थियो ।

सुन र अन्य सामानको व्यापार गर्ने मुख्य व्यापारिक केन्द्र पनि उनकै षेत्रमा थिए । मुसाको शासन यस्तो समयमा थियो जतिबेला युरोपेली देशहरु गृहयुद्ध र संसाधनको कमीका कारण संघर्ष गरिरहेका थिए । त्यो समयमा सुन र नुनजस्ता प्राकृतिक संसाधनका कारण मालीको साम्राज्य निकै विकसित भएको थियो । विश्वलाई मुसाको शक्तिबारे त्यतिबेला थाहा भयो जब उनले हजमा जाने निर्णय गरेका थिए ।

रिपोर्टका अनुसार मुसा हजमा जानको लागि ६० हजार मानिसहरुको साथमा निस्किएका थिए । यीमध्ये १२ हजार उनका दासहरु थिए । उनको यात्राको क्रममा बीचमा साहारा मरुभूमि र मिश्र देश पनि थिए । केवल ३ महिना कायरोमा बसेका मुसाले यो क्षेत्रमा यति धेरै सुन बाँडे कि मिश्रमा सुनको भाउ अत्याधिक घट्यो र यो क्षेत्रको अर्थतन्त्र १० वर्षसम्म मुसाको प्रभावबाट माथि उठ्न सकेन । मुसा कैयौं इस्लामिक विद्वानहरुको साथमा मक्काबाट फर्केका थिए । यीमध्ये अबु अस हक पनि थिए जसले प्रसिद्ध जिंगुएरेबेर मस्जिद डिजाइन गराएका थिए ।एसेन्जी

२०७८ जेष्ठ १९, बुधबार १०:४२ 0 Minutes 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार