
१० जेठ, काठमाडौं । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ ।
प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।
यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्यु भएको थियो ।
यो पनि
बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंख्या मंगलबार दिउँसो ३ः१० बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एक/एकजनाका मृत्यु भएको हो ।
बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार ४ः३५ बजे र राप्तिसोनारी गाउँपालिका–६ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान २ बजे मृत्यु भएको हो ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० की ६६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ३ः१० बजे र आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार साँझ ५ः३० बजे र दाङको लमही नगरपालिका–६ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको ओलीले बताए ।