
आज जेठ ३, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख मेरो बुबा जीवराज आश्रितको हृदय विदारक अवसान भएको दिन ।
देशमा दासढुंगा काण्ड भएको २८ वर्ष पूरा भएको छ । तर, यो घटना एउटा दुर्घटना थियो कि षडयन्त्र ? अझै छिनोफानो भएको छैन । हाम्रो लागि यो सबैभन्दा ठूलो विडम्बना हो ।
सम्भवतः दासढुंगा काण्ड र दरबार हत्याकाण्ड नभएको भए देश आजको स्थितिमा हुन्थ्यो वा समग्र परिदृश्य नै भिन्न हुन्थ्यो, अनुमान गर्न सकिदैन ।
तर, एउटा कुरा चाहिँ पक्का हो, मदन आश्रित बाँचेको भए, एमालेभित्रको अहिलेको भाँडभैलो भने अहिलेकै अनुपातमा चर्को हुने थिएन ।
दासढुंगा काण्डका कारण मदन आश्रितको नेतृत्व क्षमता र योग्यताको सम्पूर्ण लाभ यो देशले प्राप्त गर्न पाएन । २०५० साल जेठ ३ गते पोखराबाट चितवनको पार्टीको कार्यक्रममा जाँदाजाँदै नेताद्वयको दासढुंगामा रहस्यमय अवसान भएको हो ।
२०५० सालपछि जन्मेको धेरै मानिसलाई त मदन आश्रित को हुन भन्ने बारेमा समेत थाहा नहुन सक्छ । त्यसैले दासढुंगा काण्ड पनि धेरैको विस्मृतिमा गएको अनुभूति हुन्छ ।
मदनआश्रित बाहेक नेपालको इतिहासमा ठूलो राजनीतिक दलका प्रमुख नेता रहस्यमय सडक दुर्घटनामा मारिएको रेकर्ड छैन । त्यसैले दासढुंगा काण्ड एउटा रहस्यमय घटना मात्र होइन, अपवाद नै भएको छ ।रातोपाटी बाट