२०७९ असार १८
  • काठमाडौँ

लेनदेनको हिसाब सुनाउँदा सुनाउँदै बुबा बिते, छोरा पनि रहेनन्

३१ वैशाख, काठमाडौं । दाङ देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनीमा कोरोना संक्रमणबाट पीडित एकै परिवारका तीन जनाको एक महिनाको अवधिमा मृत्यु भएको छ । तीनै जनाले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका हुन् ।

यही वैशाख ११ गते अब्दुल कलामको कोरोना संक्रमणबाट ज्यान गयो । उनलाई गाउँमै ल्याएर मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । त्यसको केही दिनपछि नै उनका भाइ मोहम्मद उमरलाई कोरोना संक्रमण पुष्टि भयो । उनको पनि उपचार गर्दागर्दै यही वैशाख २५ गते बेलझुण्डी अस्पतालमा मृत्यु भयो ।

त्यसको तीन दिनपछि मोहम्मदका २६ वर्षीय छोरा अहमद रज्जाकले बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभावका कारण ज्यान गुमाए । वैशाख २८ गतेको त्यो रात बेलझुण्डी अस्पतालमा उपचाररत रज्जाकसहित आठ जना बिरामीले अक्सिजन अभावमा ज्यान गुमाएका थिए ।

अहमद रज्जाक बुवा बिरामी हुँदा अस्पतालमा कुरुवा बसेका थिए । त्यही क्रममा उनी गम्भीर बिरामी परेपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् मोहम्मद उमरकै टोलवासी गुलाम मोहम्मद जागा भन्छन्, ‘यो अस्पतालमा म बाँच्दिन भन्ने लागेर होला मोहम्मदले आफ्नो ऋण–सापटीको हिसाबकिताब टिप्दै थिए ।

छोराले त्यो कुरा देख्यो । दुवै बाबु–छोरा अंगालो हालेर रोए । छोरो होपलेस भइहाल्यो ।’ त्यही बेलादेखि छोरो झन् बिरामी भएको र अस्पतालमै भर्ना गरेर उपचार गर्नु परेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

अब्दुल कलाम, उनका भाइ मोहम्मद उमर र उमरको छोरा अहमद रज्जाकको अन्त्येष्टि गाउँमै मुस्लिम परम्पराअनुसार गरिएको थियो ।

उनीहरु भैंसीको व्यापार गर्दथे । भारतको बलरामपुर क्षेत्रबाट उन्नत जातका भैंसी ल्याएर बेचबिखन गर्ने उनीहरुको पेशा थियो । अहिले एउटै घरका तीन सदस्यको मृत्यु भएपछि परिवार संकटमा छ ।

वडाध्यक्ष गुलाम मोहम्मद भन्छन्, ‘बाँचेर हेर बाँच्नलाई कति कठिन छ भनेजस्तो भएको छ । दाजु अब्दुल कलामको त केही हदसम्म ठीकै छ । तर उनका भाइ उमरको परिवारको भने बिचल्ली छ ।

जेठो छोरो गइहाल्यो । माइलो छोरो अपांग छ । कान्छो छोरो सानै छ ।’ २५ लाख रुपैयाँ ऋण छ भनेर परिवारका सदस्यहरुले भन्ने गरेको वडाध्यक्ष गुलाम मोहम्मदको भनाइ छ ।

२०७८ बैशाख ३१, शुक्रबार ०८:५० 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।