२०७९ असार १८
  • काठमाडौँ

देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छन् ।कोरोना लागेका बिरामी पुर्‍याउन न त एम्बुलेन्स तयार भए, न त छिमेकीले कार वा अटो नै दिए । हेर्नुहोस्

चितवन-लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए ।

घर फर्किएको दुई दिनपछि पजिटिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो । लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३ का वडाध्यक्ष क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः जानकारी हुन्छ भनेर वास्ता गरेनन् ।

बिस्तारै बिरामीलाई संक्रमणले च्याप्दै गयो । २० वैशाखको बिहानसम्म आफैँ खाना खाएका उनलाई दिउँसो एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । उनका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हारगुहार मागे, तर कोही तयार भएनन् ।

पाँच बेडको अक्सिजनसहितको आइसोलेसन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अर्थात् दुम्कौली प्राथमिक स्वास्थ्य चौकी उनको घरबाट करिब डेढ किलोमिटर पर थियो । ‘बुबा पीडामा छट्पटाइरहनुभएको थियो । मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थ्यो, तर कोही तयार भएनन्,’ उनले भने ।

देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छ । बिरामीको अवस्था गम्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष खत्री आए । नगरपालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए । गाउँका धेरै मानिस जम्मा भए, तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पुर्‍याउन न त एम्बुलेन्स तयार भए,

न त छिमेकीले कार वा अटो नै दिए । समय बित्दै गयो, संक्रमित मृत्युसँग लड्दै थिए । बिरामीको अवस्था झन्झन् नाजुक हुँदै गयो । मोटरसाइकलमा लैजान तयार भए पनि संक्रमण फैलने डरले त्यहाँ रहेका मानिसले मोटरसाइकलमा बोक्न दिएनन् ।

‘मोटरसाइकल वा ह्विलचियरमा भए पनि लैजान्छौँ भनेँ, तर कसैले लैजान दिएनन् । अन्ततः ट्याक्टरमा भए पनि हालियो, तर अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरे,’ काफ्लेले भने, ‘आज हामीलाई यस्तो भयो । भोलि अरूलाई नहोला भन्न सकिन्न । बिरामीलाई ट्याक्टरमा हाल्न कोही पनि तयार भएनन्, सबै रमिते भएर बसे ।’

मृतक परिवारका चारजना घरमै छुटाछुटै आइसोलेसनमा छन् । कोही किरियामा बसेका छन् । किरियामा बस्नु नपर्ने होम आइसोलेसनमा छन् । ‘बस्न खान त समस्या छैन, तर हाम्रो घरमा कसैलाई आउन दिइएको छैन,’ शंकरले भने ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले संक्रमित परिवारले वेलैमा वडाध्यक्षलाई जानकारी गराए पनि वडाध्यक्षले पहिलाझैँ स्वास्थ्य कार्यालयलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर पहलकदमी नलिँदा यस्तो परिस्थिति सिर्जना भएको बताइन् ।

२०७८ बैशाख २२, बुधबार ०४:१९ 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।