२०७९ असार १५
  • काठमाडौँ

दोस्रो कोरोनाको लहरबाट नेपालमा कुन उमेरका मान्छे बढी प्रभावित छन ? यस्तो छ कारण –

बीबीसी । पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने क्रम पनि बढ्ने क्रममा रहेको देखिएको विज्ञहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो। सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड-१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको बताएका छन्।

तर अर्का एक विज्ञले व्यापक स्तरमा भाइरस फैलिएकाले पछिल्लो अवस्था देखा परेको हुनसक्ने उल्लेख गर्दै सङ्क्रमणबाट बढी प्रभावित भनिएका उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को सङ्क्रमण दर नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनामा जोड दिँदै त्यसबाट मात्र बढ्दो सङ्क्रमणका घटनाले निम्त्याउन सकिने चुनौती सम्बोधन गर्न सकिने बताएका छन्।

स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार चैत्र १ गतेदेखि वैशाख १६ गतेसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउने सबैभन्दा बढी व्यक्तिहरू ५० वर्षदेखि माथिका छन्। त्यसमा ५० देखि ५९ वर्षका ५० जना, ६० देखि ६९ वर्षका ४७ जना र ७० वर्ष वा सो भन्दा माथिका ६३ जना रहेको उल्लेख छ।

उक्त अवधिमा कोरोनाभाइरसका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको जनाइएको छ।

कोरोनाभाइरसको पछिल्लो लहर नेपालमा पनि घातक बन्दै गएको भन्दै चिन्ताहरू व्यक्त भइरहँदा सरकारले तयार पारेको तथ्याङ्कले कोभिड १९ का कारण १० देखि १९ वर्षको उमेर समूहका २ जना र २० देखि २९ वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको देखाएको छ।

डेढ महिनाको अवधिमा सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको पाइएको छ। उक्त आँकडामा २० देखि २९ वर्षको उमेर समूहका व्यक्तिहरूमध्ये १० हजार ४ सय ५८ जना र ३० देखि ३९ वर्षको समूहका १० हजार २ सय ८७ जनालाई सङ्क्रमण देखिएको भनिएको छ।

६० वर्ष भन्दा माथिको उमेर समूहका व्यक्तिभन्दा बढी सङ्क्रमण ४० देखि ५९ वर्षका व्यक्तिहरूमा पाइएको छ। ४० देखि ४९ वर्ष उमेर समूहका ७ हजार ६ सय १७ र ५० देखि ५९ वर्ष समूहका व्यक्तिमा ५ हजार २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

सो अवधिमा ६० देखि ९० वर्षभन्दा माथिको उमेर समूहका ४ हजार २ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ। उक्त तथ्याङ्कले ९ वर्षभन्दा मुनिका ८ सय ९० जनामा र १० देखि १९ वर्षका ३२ सय ९२ जनामा सङ्क्रमण देखिएको पनि उल्लेख गरेको छ।स्रोत ताजाखबर

२०७८ बैशाख १९, आईतवार १२:३७ 1 Minute 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार