२०७९ असार १५
  • काठमाडौँ

एमबिबिएस पढेका दुई हजार बढी डाक्टरको एसएलसी सर्टिफिकेट छानविनमा

सन् २०१६ अघि बंगलादेशका मेडिकल कलेजहरूमा एमबिबिएस पढ्न नेपालबाट विद्यार्थीहरू ह्वार्ह्वार्ती जान्थे।पहिलो कारण – त्यतिबेला नेपालका मेडिकल कलेजमा सिट संख्या कम थियो।

दोस्रो कारण – विदेश पढ्न जाने विद्यार्थीले मेडिकल काउन्सिलबाट इन्ट्रान्स पास गरिरहन पर्दैनथ्यो।बंगलादेशको नियम थियो र अहिले पनि छ- एसएलसी जिपिए। अर्थात्, उत्तीर्ण भएका विषयमध्ये अंग्रेजी, विज्ञान र गणितमा अंक प्रतिशत बढी चाहिन्छ।

बंगलादेशको सरकारी मेडिकल कलेजमा ८ जिपिए र निजीमा ७ जिपिए चाहिन्छ। काउन्सिलका अधिकारीहरूका अनुसार बंगलादेशको त्यो जिपिए भनेको नेपालको डिस्टिङ्सन वा त्योभन्दा माथि हो।

आइएस्सी वा प्लस टुको हकमा फिजिक्स, केमेष्ट्री र वायोलोजी विषयमा बंगलादेशले एसएलसीमा तोकेको जिपिए नै खोज्छ।

अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगलादेशमा एमबिबिएस पास गरी डाक्टर बनेर आएकाहरूको एसएलसी सर्टिफिकेट मात्रै छानविन गरिरहेको छ।

त्यसबेला आवश्यक जिपिए नहुनेहरूले एसएलसीको सर्टिफिकेट किर्ते गरेको अनुसन्धानले देखाएपछि ब्युरोले छानविन थालेको हो।

केही दिनअघि बंगलादेशबाट एमबिबिएस गरेका ६ जना विद्यार्थीको एसएलसी सर्टिफिकेटमा आवश्यक जिपिए पुर्‍याउन नम्बर सच्याइएको भेटाएको थियो।

यसक्रममा चीन जान नम्बर सच्याएका अर्का एक जना र बंगलादेशमा एमबिबिएस पास गरेका छ जना डाक्टर पक्राउ परेका थिए।

एलएलसीमा नम्बर सच्याएर बंगलादेश र चीनमा एमबिबिएस पढेर डाक्टर भएर आइसकेकाहरू कोही त अस्पतालमै काम गरिरहेका थिए।

नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१६ अघि त विद्यार्थी बंगलादेश बढी नै जान्थे। त्यसबेला वर्षेनि ५ देखि ७ सयसम्म बंगलादेश जान्थे।

२०१६ पछाडि काउन्सिलले इन्ट्रान्स परीक्षा अनिवार्य गर्‍यो। त्यसपछि पनि बंगलादेश जाने विद्यार्थीहरू कम भएका छैनन्।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी भन्छन्, ‘सन् २०१६ पछि हालसम्म वर्षको ३४० देखि ३८० जनासम्म बंगलादेश गइरहेको देखिन्छ।’

ब्युरोले अनुसन्धान थालेपछि नेपाली विद्यार्थीको बंगलादेश एमबिबिएस गन्तव्य विवादमा आएको छ। बंगलादेश जानेहरूको एसएलसी सर्टिफिकेटमा शंका उठेपछि थुप्रै डाक्टर छानविनको दायरामा आउने देखिएको छ।

ब्युरोका अनुसार चिकित्सक पक्राउ परेपछि २०६८ देखि २०७२ सालसम्म बंगलादेश गएर पढेकाहरूको एसएलसी सर्टिफिकेट छानविनमा परेको छ। स्रोत सेतोपाटी बाट

२०७८ बैशाख १५, बुधबार ०१:०२ 1 Minute 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार