२०७९ असार १४
  • काठमाडौँ

मनकामना मन्दिर वैशाखभर बन्द किन ?

कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । आज(बुधबार) नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए । ‘आज त काठमाडौ लगायतका ठाउँबाट भक्तजन आइसक्नुभएको छ, केवलकार पनि बिहानैदेखि भिडभाड छ,’ उनले भने,‘आज नै पूजामा रोक लगाइहाल्ने अवस्था छैन, सूचना जारी गरी भोलिबाट बन्द गर्छौं ।’

वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए । प्रशासनको निर्देशन अनुसार नै मन्दिरमा नित्य बाहेकको पूजामा रोक लगाइएको उनले बताए । पछिल्लो समय मनकामना मन्दिरमा सरदर दैनिक चार हजारसम्म भक्तजन पुग्ने गरेका थिए । ‘भक्तजनको आउने क्रम बढीरहेको थियो, पुरानै स्थितिमा फर्किएसकेका थियौं,’ उनले भने, ‘पछिल्लो समय चार हजारदेखि नौ हजारसम्म भक्तजन मनकामना मन्दिर आए ।’

बुधबार नै केहिबेरमा सूचना जारी गरि गोरखकाली मन्दिर पनि बन्द गर्ने तयारी भइरहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । बुधबारबाटै नित्य बाहेकको पूजा बन्द गर्न सम्बन्धित पक्षलाई निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए । ‘सूचना जारी गरिसकेका छौं, सम्बन्धित सरोकारवालालाई पनि सुचित गरिसक्यौं,’ उनले भने ।

सिनेमा हल, पार्टी प्यालेस, नाचघर हेल्थ क्लब, जिम खाना, फुटसल, सभा, आमसभा तथा भिडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको उनले बताए । अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलपमा पनि २५ जनासम्म मात्र भेला भइ स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । होटल तथा रेष्टुरेन्टहरु पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म मात्र खोल्न निर्देशन गरिएको छ ।कान्तिपुरडेलि बाट

२०७८ बैशाख ८, बुधबार १९:१३ 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार