२०७९ श्रावण २९
  • काठमाडौँ

श्रीमती लिन हिँडेका आफैं पहिरोमा परे

चितवनस्थित माइती गएकी विष्णुमाया लामिछाने मुग्लिनको जाममा परेको खबर पाएपछि श्रीमान् केशव घिमिरे शुक्रबार बिहानै स्कुटर लिएर निस्के ।

आँबुखैरेनी–४ मर्स्याङ्दी विद्युत् गृहनजिक गुडिरहेका बेला सडक भासियो । उनी मर्स्याङ्दी नदीमा खसे ।गोरखा सिरानचोक गाउँपालिका घर भएका घिमिरे आँबुखैरेनी–२ मा विद्युतीय सामग्रीको व्यवसाय गर्थे । मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएकाले श्रीमती लिन भन्दै उनी बिहानै ४ बजे घरबाट निस्केका थिए ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार सडक भासिँदा कार, मोटरसाइकल र स्कुटर मर्स्याङ्दी नदीमा खसेका थिए । बा १०च ४६७९ नम्बरको कार चालक हेटौंडा उपमहानगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल र बा१५प २९५३ नम्बरको स्कुटर चालक घिमिरे मृत भेटिए ।

ग२३प १०८१ नम्बरको मोटरसाइकल चालकको भने सकुशल उद्धार गरिएको छ ।सडक भासिएपछि आंशिक रूपमा साना सवारी आवागमनको व्यवस्था मिलाइए पनि ठूला सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडकको कुनातर्फको पहरो काटेर साना सवारीको आवत–जावत सुचारु गरिएको प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले बताए ।

अर्को सूचना नभएसम्मका लागि उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।साना सवारी र दुई पाङ्ग्रेलाई पनि बिहान ५ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिइने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । सडक भासिएको क्षेत्रमा वैकल्पिक मार्ग बनाउने ठाउँ छैन ।

उक्त ठाउँमा करिब २० मिटर सडक भासिएको र ४० मिटर जोखिममा रहेको छ ।सडक खुलाउन प्राविधिकले अध्ययन गरी पहरो काट्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय दमौली प्रमुख लक्ष्मी केसीले बताइन् । राजमार्ग अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै चितवन, काठमाडौं जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । कयौं यात्रु अलपत्र परेका छन् ।

२०७९ जेष्ठ २८, शनिबार ०६:१५ 0 Minutes 636 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।