२०७९ आश्विन २१
  • काठमाडौँ

नमिता–सुनिता हाइप्रोफाइल हत्या काण्डमा निर शाहको चर्चा

काठमाडौं । नमिता–सुनिता हत्या काण्ड भएको ४० वर्षभन्दा धेरै हुन थालेको छ । अझै पनि यो विषयले चर्चा पाइरहेको छ ।

हाइप्रोफाइल हत्या काण्ड भएका कारण बेला–बेला उठ्ने गरेको छ । नमिता–सुनितासँगै हत्या भएका अरु दुई जनाको पनि वास्तविक हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

विक्रम संवत २०३८ जेठ १८ गते काठमाडौं, लाजिम्पाटबाट बिहान ७ बजे नमिता र सुनिता भण्डारी पोखरा घुम्न निस्किएका थिए । उनीहरू मुस्ताङ्ग ट्रान्सपोर्टको बा. अ. १८० नं. को बस चढेर पोखराको गएका थिए ।

नमिता–सुनितासँगै मिल्ने साथी नीरा पराजुली पनि थिइन् । नमिता–सुनिताका दाई (ठूलो बुवाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा विन्टुु (विजय) पनि थिए ।

नमिता–सुनिता उच्च सरकारी कर्मचारीका छोरी थिए । लाजिम्पाटका माधवराज भण्डारी नेपाल सरकारका उच्च कर्मचारी हुन् । बिहान ७ बजे काठमाडौंबाट हिँडेको बस दिउँसो अढाई बजेतिर पोखरा बसपार्कमा पुगेको थियो ।

२०३८ साल जेठ १८ गते बिहानको ७ बज्नासाथ नीरा ट्याक्सी चढेर बगाले टोलस्थित बल्लभ दाइको डेरामा पुगिन् ।

नमिता–सुनितालाई साथमा लिएर काकाको घरमा फर्किइन् । उनीहरू काकाको घरमा केही घण्टामात्र बसे र बिहानको खाना खाइवरी करीब १०:३० बजेतिर बल्लभको डेरा हुँदै पूर्णिमा सिनेमा हलमा सिनेमा हेर्न भनी गएका थिए ।

त्यस दिन पोखराको सिनेमा हलमा उनीहरूले हरेको हिन्दी सिनेमाको नाम थियो ‘कोशिश’ । यो १८ गतेको कुरा थियो । २० गतेको दिन उनीहरू बिहानै फेवाताल घुम्न गए । फेवाताल पुगेको केहीछिनपछि पानी दर्किन थाल्यो ।

उनीहरू पानीबाट ओतिनका लागि डाँफे कला मन्दिरमा पसे । दिनको १२ बजेतिर पानी केही कम भएपछि डेरातिर फर्किए । २१ गते उनीहरू पोखरा घुम्न निस्किए । २२ गतेको दिन उनीहरू तीन जना नीराकी सानी आमाकोमा गएका थिए । त्यो रात उनीहरू सानीआमाकै घरमा बास बसेका थिए । दुई/तीन दिनभित्रमा काठमाडौं फर्किन्छौं भनेर उनीहरूले सानीआमालाई जानकारी गराएका थिए ।

सानीआमाको घरमा बसेको अर्को दिन नमिता–सुनिता घरमा बुबाआमालाई चिन्ता प¥यो कि भन्दै पत्र लेखेका थिए ।
२०३८ जेठ २४ गते बिहान सबेरै उठेर तीनै जना बेगनास ताल घुम्न भनी घरबाट बाहिरिए ।

उनीहरू बेगनास ताल पुगे कि पुगेनन् यो कुरा भने रहस्यकै गर्भभित्र आजसम्म लुकेको छ । तीन/चार दिनदेखि उनीहरू आएनन् । उनीहरूको खोजीमा आफन्त लागे ।

अन्ततः आजित भएर रूद्रमणिले जेठ २७ मंगलबारका दिन नमिता–सुनिताका बुबा माधवराज भण्डारीलाई ट्रंकल गरी छोरीहरूबारे सोधे । रूद्रमणि झनै त्रसित भएका थिए ।

तत्कालीन गृहमन्त्री नवराज सुवेदीले यत्ति मात्र भनेका थिए–‘तपाई पोखरा गइहाल्नुहास्, मैले शानेवानिलाई भनिदिएको छु । विमानस्थलबाट सोझै टिकट लिए हुन्छ, गइहाल्नुस् ।’

पोखरामा नमिता, सुनिता र नीरा हराएको खबरले सनसनी फैलिरहेको थियो । शान्त पोखरा नरवासीहरू अशान्त बन्न थालिसकेको थिए । जताततै सन्त्रास छाइरहेको थियो ।

पोखराबासीमा अनेक आशङ्काहरू उठिरहेका थिए । राजधानीमा पनि नमिता सुनिता र नीरा बेपत्ता भएको घटनाले चर्चा पाएको थियो ।

नमिता–सुनिता हत्याकाण्डमा तत्कालीन राजपरिवारका सदस्य अधिजकुमार धिरेन्द्र शाहको नाम सबैभन्दा धेरै जोडिएर आएको थियो ।

नमिता–सुनितालाई पोखरामा सन् १९८० मा देखिएको थियो । त्यस बेला घुम्न आएका नमिता–सुनितालाई चार जना युवकले जिस्काएका थिए ।

जिस्काउने समूहमा तत्कालीन अधिराजकुमार धिरेन्द्र शाहसँगै उदयशम्शेर जबरा (कोमल शाहका भाई), नीर शाह (कलाकार) र विनोदशंकर श्रेष्ठ (व्यापारी)लाई देखेको भनेर भारतीय युट्युब च्यानल क्राइम टकमा उल्लेख गरिएको छ ।

यद्यपि, कलाकार निर शाहले सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । त्यस बेला आफू जमलमा नाटकको तयारी गरेको बताउने गरेका छन् ।

पत्रकार किशोर श्रेष्ठले आफ्नो पुस्तकमा लेखेका छन्– ‘तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउँदा चन्द्रध्वज गुरुङसँग नीर शाह, उदयसमशेर जबरा र विनोदशंकर श्रेष्ठको फोटो थियो तर, त्यसलाई प्रयोगमा ल्याइएन ।’

पुस्तकमा श्रेष्ठले उत्तम पुनको नाम पनि उल्लेख गरेका छन्, जसका संरक्षणकर्ता तत्कालीन अधिराजकुमार धीरेन्द्र थिए । घटना दरबारसँग सोझै जोडिएको मानिन्थ्यो ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंशनाश भएपछि अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजगद्दीमा राखिएको थियो ।

राजगद्दीमा बसेको १० दिनमा रहस्यमय ढंगबाट नमिता–सुनिता हत्याकाण्डलाई टुङ्गो लगाएको थियो ।

२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि २०५८ जेठ २९ मा पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई गोप्य पत्र पठाएको थियो ।

वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ त्यो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०५८/०२/२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो । पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख थिएन ।

सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरू’ चूपचाप छन् ।

पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले २०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्ग्याउने तारतम्य मिलाएको थियो । द रिपब्लिक दैनिकी बाट

२०७८ चैत्र १४, सोमबार ०९:५७ 0 Minutes 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।