२०७९ आश्विन १८
  • काठमाडौँ

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज प्रतिष्ठित एप्पल कम्पनिमा इञ्जिनियर

न्युयोर्क : नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले ऐप्पलभित्र ‘नेपाली–एट–एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ ।

‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् ।

नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?’ करिब १५ वर्षअघि स्कुलमा त्यो रकम तिर्न नसक्दा निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने सानो क्षितिजको दिमागमा झन् त्यो कुरा जकडिएर बसेको थियो। त्यतिखेरै संकल्प लिएका थिए, ‘कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।’

आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा ‘सफ्टवेयर इञ्जिनियर’ का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे।

बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलका विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाएर गए।

‘हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,’ सानो हुँदाको घटना सम्झँदै भने, ‘त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।’

क्षितिजका बुबा पनि इञ्जिनियर हुन्। धापासीमा उनीहरूको घर थियो रे। सुरुआतमा राम्रै थियो। माओवादी द्व’न्द्वका’लमा बुबाको जागिर गयो, पछि घर, विस्तारै सबै कुरा। बालख क्षितिजलाई भने यो कुराको चालै थिएन। खेल्ने, कुद्ने र बदमासी नै जिन्दगी।

सानोमा खासै पढ्न नरूचाउने उनले कक्षा १० सम्म आइसक्दै ८ वटा स्कुल फेरिसकेका थिए। कुनैमा बदमास भएकाले निकालिए, कुनै स्कुल मन नपरेर छाडे, कुनै टाढा भएकाले त कुनैमा के …।

पढ्न भनेपछि उनलाई फिटिक्कै मन नलाग्ने। पढ्न नपर्ने भएपछि जे पनि गर्न तयार। आमाबुबाले पढाइमा चासो नदेखेपछि मनपर्ने अन्य गतिविधिमा सामेल गराउन चाहे।

‘पढ्नु पर्दैन भन्ने भएपछि मैले कक्षामा को नाच्छ भन्दा हातसमेत उठाएको थिएँ,’ उनले भने, ‘आमाले त एकपटक कुर्ता-सुरुवाल बेचेरै तेक्वान्दोको लुगासमेत किनिदिनुभएको थियो। तेक्वान्दो होस् वा जिम्न्यास्टिक वा फुटबल, सबै पढ्न नपर्ने भएकै कारण मेरो मनपर्ने विषय थिए।’

बाध्यताले स्कुल फेर्नु एक कुरा, निकालिएपछि भने उनलाई नराम्रो चस्का पर्‍यो। जीवनमा केही नराम्रै भइरहेको छ भन्ने महशुस गरे। त्यो घटनाका कारण घरमा आमाबुबा रोइरहेको देख्दा दिमागले सोच्यो– क्षितिज, यसरी हावा भएर जिन्दगी चल्दैन।

त्योभन्दा बढी स्कुलबाट निकालिँदा प्रधानाध्यापकले ‘१५ सय रुपैयाँ पनि तिर्नुपर्छ भनेर सम्झन सक्दैनस्?’ भन्ने शब्द बारम्बार उनले सम्झिरहे। उनलाई रिसभन्दा बढी चित्त दुखेको थियो।

स्कुलबाट निकालिएपछि घरमै थन्किए, स्मरणशक्ति बढाउने तालिम लिए। जीवनमा कुनै दिन गम्भीर भएर नपढेका क्षितिजले दैनिक ७-८ घन्टा ध्यान दिएर ‘मेमोरी रेकर्ड’ बनाउने दौडमा स्मरणशक्ति बढाउने अभ्यास गर्न थाले। सन् २००५ मा उनले चारवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय रेकर्ड बनाए।

त्यो रेकर्डपछि उनले र उनकी बहिनीसमेतले पढ्ने छात्रवृत्ति पाए। ‘मेमोरी रेकर्ड’ बनाएकाले यसैलाई व्यावसायिक बनाएर भविष्य बनाऊँ कि भन्ने क्षितिजलाई लागेको थियो। तर उनले कम्प्युटर इञ्जिनियर बन्ने लक्ष्य राखे।

‘सानोमा जिटिए, फिफा अत्ति खेल्थेँ। कम्प्युटरमा बसिरहन के पढ्नुपर्छ भन्दा कम्प्युटर इञ्जिनियरिङ भन्ने दिमागमा आयो,’ आफ्नो इञ्जिनियरिङ यात्राबारे खुलाउँदै भन्छन्, ‘प्रोग्रामिङमा चासो भएर होइन, गेम खेल्न मन लागेर यो पेसामा जोडिएँ।’

एसएलसीपछि छात्रवृत्तिमै चेल्सी कलेजमा ‘ए लेभल’ पढे। आफ्ना सबै गतिविधिका रमाइला प्रसंग सुनाउने क्षितिजले भने, ‘ए लेभल भनेको के हो, थाहा पनि थिएन। एउटा साथीले भन्थ्यो, ‘क्षितिज, लास्टमा कि ब्ल्याक लेबल कि रेड लेबल खाने हो। पढ्न चाहिँ ए लेभल नै।’

साथीको उक्साहटमा ए लेभल पढेका उनले पढाइपछि अमेरिकाको नर्थ इस्टर्न विश्वविद्यालयमा छात्रवृत्ति पाए। छात्रवृत्ति पाएपछि खुसी हुनुपर्ने उनको दिमागमा प्रश्न जन्मिन थाले, ‘अब के त? भिसाको पैसा कहाँबाट ल्याउने, प्लेन खर्च, सामान कसरी किन्ने?’

घरमा पैसा थिएन, प्लेनको टिकटका लागि माइजूले सिक्री बेचिन्। चेल्सीका एक शिक्षकले सामान किन्न खर्च जुटाइदिए।

त्यसरी अमेरिका पुगेका क्षितिजको इञ्जिनियरिङ यात्रा सुरू भयो।

विश्वविद्यालय पढाइ क्रममा त्यहाँका शिक्षकले एकपटक प्रत्येक विद्यार्थीलाई आफ्नो देशको ‘नेटवर्किङ’ बारे प्रस्तुति दिन भनेका थिए। आफ्नो देशबारे सोच्दा अन्यौल भएपछि क्षितिजले अमेरिकाकै अन्तरिक्षसम्बन्धी काम गर्ने संस्था नासाबारे प्रस्तुति दिएछन्।

शिक्षकले सोधे, ‘किन आफ्नो देशबारे नगरेको?’

उनी नाजवाफ भए।

त्यो घटनाबाट प्रेरित क्षितिज आफैं केही काम किन नगर्ने भनेर घोत्लिन थाले।

नेपालको झन्डा सबभन्दा अग्लो स्थानमा पुगेको भनेको सगरमाथाको ८८४८ मिटरमा हो। झन्डा त्योभन्दा माथि कसरी पुर्‍याउन सकिएला भनेर ‘ह्वेदर बलुन टेक्नोलोजी’ मार्फत् काम थाले। १७ महिना लगाएर उपकरण तयार गरे, प्रोग्रामिङ गरे र झन्डा राखे। ‘क्रिन्जल स्पेस’ नामाकरण गरिएको उक्त उपकरण ८० हजार फिट माथि पुग्यो।

‘रकेट जसरी अन्तरिक्षमा पुर्‍याउन नसके पनि त्यसको किनारसम्म पुर्‍याएँ। उपकरण त्यहाँ पुगेपछि मैले राष्ट्रिय गान बज्ने बनाएको थिएँ। त्यहाँ बजाउँदा हाम्रो राष्ट्रिय गान सधैं वायुमण्डलमा रहिरहन्छ भन्ने हो,’ उनले सुनाए।

फेरि हाँस्दै भने, ‘अलिकति फिल्मी सुनिन्छ है। म मान्छे पनि फिल्मी नै छु।’

त्यस्तै फिल्मी काम उनले ‘क्रिन्जल’ मा तारा जोडेर पनि गरेका थिए।

‘आकाशबाट तारा झारेर ल्याइदिन्छु’ भन्नेलाई व्यंग्यका साथै चाहेको कुरा गर्न सकिन्छ भन्ने धारणा त्यसबाट देखाउन चाहन्थे उनी।

‘जुन कुरा अरूले गफमा भन्थे, म गर्न चाहन्थेँ,’ उनले भने। क्रिन्जल स्पेसले क्षितिजलाई धेरैमाझ युवा वैज्ञानिक भनेर नयाँ परिचय थपिदियो। सन् २०१४ मा नेपाल सरकारले उनलाई ‘राष्ट्रिय युवा पुरस्कार’ ले सम्मान गर्‍यो। सन् २०१५ मा स्नातक सकेका उनले एप्पल कम्पनीमा काम गर्नुपूर्व दुई ठूला कम्पनी ‘पे-पाल’ र ‘गोल्ड म्यान स्याक्स’ मा काम गरिसकेका छन्।

‘पहिले पे-पालमा इन्टर्नसिप गरेँ। त्यो बेला मलाई केही अनुभव थिएन। गेम खेल्न र माइक्रोसफ्टमा आफ्नो नाम लेखेर झिलिमिली पार्न मात्र आउँथ्यो। त्यहाँका म्यानेजरले मलाई सिकाए,’ उनले भने, ‘त्यहाँ एक वर्ष सिकेपछि गोल्ड म्यान स्याक्समा रिसर्च टिममा काम गरेँ।’

त्यही क्रममा ३, ४ महिना लगाएर एप्पल प्रवेश गर्ने तयारी पनि गरे। फोन, भेटेर, प्राविधिक, सामूहिक लगायत ६, ७ अन्तर्वाता दिएर बल्ल जागिर पाएको बताउँछन्। सन् २०१८ देखि उनी एप्पलको आइफोन बनाउने ‘कोर टिम’ मा सफ्टवेयर इञ्जिनियर छन्।

नेपाल ओहोरदोहोर गरिरहने क्षितिज ‘मोटिभेसनल स्पिकर’ पनि हुन्। आफ्ना प्रेरक कथाहरू सुनाउँछन्। हालै बबरमहलको किङ्स कलेजमा उनले ‘पहिलो कदम’ अभियानबाट मानसिक स्वास्थ्यबारे बोले। उनले आफू पनि अमेरिका बसाइ क्रममा ५ वर्ष डिप्रेसनमा रहेको खुलाएका थिए।

‘मान्छे हाँसिरहेको, बोलिरहेको, आफ्नो काम गरिरहेको हुनसक्छ, तर पनि डिप्रेसनमा हुनसक्छ। म त झन् मोटिभेसनल स्पिकर नै थिएँ। कति वर्षसम्म त आफू डिप्रेसनमा छु भनेर थाहा पनि पाइनँ। मजस्तो खुसी मान्छेलाई डिप्रेसन भएको सुरूमा पत्याउनै सकेको थिइनँ,’ उनले भने, ‘क्रिन्जल स्पेसले चर्चा पायो, राष्ट्रिय अवार्ड पाएँ तर मन खुसी थिएन। एकपटक त आफैंलाई सक्काऊँ भन्ने पनि लागेको थियो। तर म सबैबाट निस्किएँ।’

‘पहिलो कदम’ मार्फत् आफूजस्तैलाई मानसिक सहायता दिने कार्यक्रम गर्न चाहन्छन् उनी। उनीहरूलाई प्रेरणा दिने र मनोचिकित्सकसम्म पुर्‍याएर समस्या सामाधान गर्ने लक्ष्य राखेका छन्। त्यसका साथै ‘शिक्षा-दिक्षा’ आयोजनामार्फत् केटाकेटीको शिक्षामा काम गरिरहेका छन्।

‘हाम्रो आफ्नै घर नहुँदा, भाडा समयमा तिर्न नसक्दा घरबेटीका शब्दले मेरो चित्त साह्रै दुखेको छ। यसैले नहुनेलाई घर बनाइदिन मन छ,’ उनले भने।

क्षितिजलाई लाग्छ– नेपालको जीवन गाह्रो भए पनि रमाइलो छ। सहरमै हिलो, जाम, धूलो लगायत समस्या छ। तर साथीहरूसँग भएपछि रमाइलो हुन्छ। अमेरिकाको जीवन सजिलो छ। सबै सुविधा छ, यहाँजस्तो रमाइलो माहोल भने छैन।

तर पनि उनी विदेश गएकाहरू सबै फर्किनुपर्छ भन्ने पक्षमा छैनन्।

‘नेपाल फर्कँदैमा देश बन्ने भनेको गणितको नियमजस्तो होइन। एक लाख भए १६ दिनमा बन्ने, दुई लाख भए ८ दिनमा भन्ने हुँदैन। देश बन्ने भनेको देशबासी बन्ने हो। म अमेरिका नै बसेर नेपालका लागि धेरै सहयोग गर्न सक्छु। अनुकूल हुनेहरू आउँदा ठिकै होला, नहुनेहरू यहाँ आए भने देशका लागि बोझ मात्रै होइन्छ,’ उनी भन्छन्।

अमेरिकामै पनि उनी नेपाल समेट्ने काम गरिरहेका छन्। क्षितिज प्रत्येक आइतबार त्यहाँका नेपाली केटाकेटीलाई भाषा र इतिहास कक्षा सञ्चालन गर्छन्। कक्षामा केटाकेटीले नेपाली बोल्न र यहाँका चाडपर्वसँग नजिकिन पाउँछन्। केही विदेशी बच्चासमेत त्यहाँ पढ्न चासो देखाइरहेको उनी बताउँछन्।

‘मेरा लागि नेपाल भनेको यसले ओगटेको क्षेत्रफल मात्रै होइन। जहाँ रहेर नेपालबारे सोच्छु, काम गर्छु, नेपालीसँग हुन्छु। त्यो पनि म नेपालमै हुनुसरह हो,’ उनले भने।

स्कुलबाट निकालिएदेखि डिप्रेसन एप्पल कम्पनीसम्मको यात्रा तय गरेका क्षितिज आफूले बाँचेको जीवनदेखि खुसी छन्।

आफैंसँग दंग हुँदै बेला-बेला ऐना हेरेर भन्छन् पनि रे, ‘क्षितिज तँ साँच्चै बबाल मान्छे होस्।’

उनलाई चिन्नेले सामाजिक सञ्जालमा दैनिकजसो सन्देश पनि पठाउँछन् रे, ‘तपाईं साँच्चै बबाल हुनुहुन्छ। मेरो प्रेरणाको स्रोत हुनुहुन्छ।’

एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।

एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट “कम्प्युटर” शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।

मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो । ताजाखबर बाट

२०७८ चैत्र १३, आईतवार २२:५७ 1 Minute 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।