२०७९ आश्विन २१
  • काठमाडौँ

७ महिनाअघि अर्थमन्त्री थिए, ६ अर्ब डलर सम्हाल्थे, अहिले बाँच्नका लागि ट्याक्सी चलाउँछन्

काठमाडौं । खालिद अर्थात स्थायी । उनको नामको अर्थ स्थायी हो तर खालिद पाएंदाको जीवनमा केही पनि स्थायी रहेन । ७ महिनाअघि उनी अफगानिस्तानका अर्थमन्त्री थिए । गएको अगष्ट महिनासम्म जसले देशको ६ अर्ब डलरको खजाना सम्हाल्थे अहिले उनी पेट पाल्नकै लागि अमेरिकाको सडकमा ट्याक्सी चलाउँछन् ।

देशमा तालिबानको नियन्त्रण भयो । अमेरिकी सेना अफगानिस्तान छोडेर गए । राष्ट्रपति अशरफ गनी र उनका मन्त्रीहरु देशलाई बिचल्लीमा छोडेर विदेश भागे । खालिद पनि उनीहरुमध्ये एक हुन् तर उनको स्थिति पूर्वराष्ट्रपति अशरफ गनीको जस्तो छैन । उनी अमेरिकाको राजधानी वाशिङटन डिसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा चलाइरहेका छन् ।

वाशिङटन पोस्टसँग कुरा गर्दै खालिद भन्छन् ‘आउँदो २ दिनमा मैले ५० ट्रिप पूरा गर्नुपर्छ । यसको बदलामा मैले ९५ डलर बोनस पाउँछु । घरमा पत्नी र ४ छोराछोरी छन् । अलिअलि बचत थियो त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा हालत निकै दयनीय छ । महामारी त थियो नै अब खडेरी पनि परेको छ । विश्वले धेरै किसिमका प्रतिबन्ध लगाइदिएको छ । अर्थतन्त्र बर्बाद भइसकेको छ र तालिबानले महिलाहरुको जिन्दगी नर्क बनाइदिएको छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको सबै दोष त्यहाँको सरकारमाथि थोपरेका थिए । अमेरिकी राष्ट्रपतिले भनेका थिए ‘हामीले अफगानिस्तानको सरकारलाई हरेक कुरा उपलब्ध गरायौं । हरेक अवसर दियौं ताकि उनीहरु आफ्नो भविष्य राम्रो बनाउन् ।’ खालिद भन्छन् ‘मेरो जिन्दगीको एक भाग अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचौं भनौं भने म अब कहीँको रहिन । आफ्नो देश फर्किन सक्दिन र यहाँको कुनै ठेगान छैन । आज मैले ४ डलर टिप्स पाएँ ।’

खालिदका अनुसार तालिबानको कब्जाभन्दा केही दिन पहिले उनले अफगानिस्तानको अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका अनुसार लेबनानको एक कम्पनीको भुक्तानी हुन सकिरहेको थिएन त्यसैले राष्ट्रपति अशरफ गनी उनीसँग रिसाएका थिए । राष्ट्रपति गनीले धेरै कुरा सुनाएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

पाएंदाको परिवार अगष्ट महिनाको पहिलो हप्तामा नै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी स्वयं पनि १५ अगष्ट भन्दा पहिले नै वाशिङटन पुगेका थिए । उनी भन्छन् ‘विश्वले हामीलाई २० वर्ष दियो, हरेक किसिमको सहयोग दियो तर दुर्भाग्यले हामी असफल भयौं । भ्रष्टाचारका कारण हाम्रो प्रणाली धराशायी भयो । सत्य यो हो कि हामीले आफ्नो देश र जनतालाई धोका दियौं । मन्त्रीहरुलाई थाहा थियो कि तालिबानले देशमा कब्जा गर्नेछ । उनीहरु ह्वाट्सएपमा देश छोड्ने म्यासेज आदान प्रदान गरिरहेका थिए ।’

आखिर अफगानिस्तानमा के भएको थियो ? यो प्रश्नमा खालिद भन्छन् ‘यो घाउ कोट्याएजस्तो हो ।’ खास कुरा यो हो कि अहिले मोहम्मद उमर तालिबान शासनमा अर्थमन्त्री छन् । उनी खालिदका बाल्यकालका साथी हुन् । कुनै समय पाकिस्तानमा समय बिताएका खालिदले अफगानिस्तानमा पहिलो निजी विश्वविद्यालय स्थापना गरेका थिए ।

उनी मान्छन् कि अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानव अधिकारको लामो लडाइँ लड्यो । २००८ मा खालिद पहिलो पटक अमेरिका आएका थिए । अमेरिकाले भनेर नै अशरफ गनीले २०१६ मा उनलाई डेप्युटी अर्थमन्त्री बनाएका थिए । काबुलमा उनकी आमा कोरोनासँग हारेकी थिइन् । उनका साथी र पत्नी खालिद अर्थमन्त्री बनुन् भन्ने चाहँदैनथे किनकि त्यतिबेला तालिबान तीब्र रुपमा बढिरहेको थियो ।

२०७८ चैत्र ७, सोमबार ११:४६ 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।