२०७९ आश्विन २१
  • काठमाडौँ

प्रारम्भिक जनगणना– १० वर्षमा ३२ जनामात्रै वृद्धि

२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसंख्या १९ हजार नौ सय ६६ थियो।

२०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसंख्या मात्र ३२ जनाले बढेको छ। यसभन्दा अघि गाउँपालिका आफैँले गणना गर्दा २३ हजार चार सय १८ जनसंख्या रहेको तथ्यांक निकालेको थियो।

१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसंख्या ३२ जनाले मात्रै बढ्नु प्रारम्भिक गणनानै त्रुटिपूर्ण भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा उल्लेख्य बसाइँसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकले त्रुटिपूर्ण तथ्यांक संकलन गर्दा आफ्नो पालिकाको यर्थात जनसंख्या आउन नसकेको बताएको छ। गाउँपालिकामा जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए।

गाउँपालिकाका अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन्। रोजगारीका लागि पालिका बाहिर भएका र विदेश गएकाको तथ्यांक संकलन नहुँदा पनि वास्तविक जनसंख्या नआएको उनी बताउँछन्। ‘विदेश र रोजगारी तथा अध्ययन र अन्य कामका लागि पालिका बाहिर भएकाको तथ्यांक संकलन गरिएको रहेनछ,’ उनले भने, ‘उनीहरुको तथ्यांक नहुँदा पनि यतिधेरै नघट्नु पर्ने हो।’

गणकमा तथ्यांक शुद्धता र विश्लेषण गर्न सक्ने क्षमता नहुँदा पनि अस्वाभाविक कम जनसंख्या देखिएको गाउँपालिकाका सूचना अधिकारी शेरप्रसाद ढकालले बताए। सरकारले अनलाइनमार्फत गणनको फाराम संकलन गरेको थियो। यसभन्दा पहिला सरकारले शिक्षकहरुलाई गणकका रुपमा परिचालन गर्दै आएको थियो। ‘

पहिलो अनुभवी र बौद्धिक व्यक्तित्वहरुले गणकका रुपमा काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘तर यसपालि भौगोलिक अवस्थाको ज्ञान नभएका र तथ्यांकलाई विश्लेषण तथा शुद्धता गर्न सक्ने गणक भएनन्।’ यो गम्भीररुपमा तथ्यांक संकलन नहुँदा त्रुटिपूर्ण तथ्यांक आएको उनको भनाइ छ।

शैक्षिक सुधार सुझाव कार्यदलबाट शिक्षक तथा बौद्धिक व्यक्ति परिचालन गर्दा आएको तथ्यांकभन्दा धेरै कम तथ्यांक सार्वजनिक भएको गाउँपालिकाले जनाएको छ। ‘हामीले गणना गर्दा चार हजार एक सय २९ घरमा २३ हजार चार सय १८ जनसंख्या थियो,’ उनले भने, ‘अहिले त धेरै कम भयो।’ दुई वर्षपछि गणना हुँदा त जनसंख्या बढ्नु पर्ने भन्दै उनी भन्छन्, ‘तर गाउँपालिकाको त जनसंख्या घट्यो।’

भौगोलिक विकटताका कारण पहाडी बस्तीमा फिजिएर बनेका घरहरु हुन्छन्। एक घरबाट अर्काे घर पुग्न समय लाग्ने हुँदा गणकहरुले गणनानै गर्न छुटाएको जस्तो पनि देखिएको सर्वसाधारणहरुको भनाइ छ।

प्रारम्भिक जनसंख्याअनुसार दार्मा गाउँपालिकामा चार हजार ६ घर संख्या छ। जो दुई वर्ष अगाडि गाउँपालिका आफैँले गणना गर्दा चार हजार एक सय २९ थियो। चार हजार दुई सय २० परिवार संख्या रहेको दार्मा गाउँपालिकामा नौ हजार ६ सय ९९ पुरुष र १० हजार दुई सय ९९ महिला रहेको प्रारम्भिक जनसंख्या सार्वजनिक भएको छ।

२०७८ माघ १५, शनिबार ०२:४५ 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।