२०७९ आश्विन १८
  • काठमाडौँ

खाडी गएकासँग प्रेम गर्नै हुन्न र?

रिङगेट अनि डलर बीचको आकाश-पातालजस्तो भाउका भिन्नताले होला, खाडी पसेका केटालाई छोरी दिन्न भन्नी बा-आमाले अमेरिका,

अस्ट्रेलिया पसेको केटो भए, कुल खानदान पनि राम्ररी विचार नगरी कन्यादान गर्न तम्सिहाल्छन्।

यो चलिआएको चल्तीमा एक म छु। आजको उमेरसम्म यही भएर रोकिएकी छु कि कतार पसेको पल्लो गाउँको रामसँग जिन्दगी कटाउने मेरो सपना, बा-आमाका विशाल अनि आरामदायी आशा र सपनाका अगाडि एकदम भिन्न र गलत देखिन्छन्।

६/७ वर्ष पहिले उनी मन पर्दा मलाई यी सब कुरा पनि हुन्छन् र यो समाजमा, यो शताब्दीमा? भन्नी लाग्थ्यो। हरेक दिन घरमा केटाको प्रस्ताव आउँदा आमा-बाले विदेशी नै खोज्ने र डिभी र पिआर बोकेको नै हुनपर्छ भन्दै गर्दा मेरा लागि पसिना बगाउन आफ्नो इच्छा मारेका उनलाई झलक्क सम्झन्छु।

‘सानी, म तँलाई खुसी-खुसी पाल्न सक्दिनँ कि झैँ लाग्यो यो नेपालमा बसेर। बरु म कतार तिर हाकिन्छु’ भनेर खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने र रमाउने उमेरमा श्रम बेच्न तम्सिएको उसको चोखो प्रेमलाई यी झिलमिल सहरका झिलमिल सपनाले लुट्छ कि भनेर निकै डर लागिरहन्छ। उसलाई छोड्दिनँ भन्ने प्रण गरेको म अनि मलाई छिमेकीको तानाले धेरै कसेको छ।

‘उमेर त जान लाइसक्यो नि नानी, अब बिहे झट्टै गर्नुपर्छ’ भनिरहँदा यो समाज तथा आफन्तको अर्ती पनि विष जसरी दिमाग र मनलाई पोलिरहन्थ्यो।

‘यत्तिको पढेकी छौ, आफ्नै खुट्टामा उभिएकी छौ, सकुशल र राम्रै छौ। तर पनि कसका लागि पर्खिएकी हौ? कसैलाई पर्खिएकी हौ भने घरमा भन्न सक्नुपर्यो, होइन भने अब बाको काँधमा यसरी बोझ भएर बस्नु राम्रो होइन’ भनेर हरेक दिन सित्तैमा सुझाव दिइरहँदा २/४ वर्ष अगाडिसम्म आँखाकी नानीजस्तै बनेकी छोरी अब उमेर अलि बढी भएपछि बोझ कसरी हुन्छे भन्ने सोच नआएको कहाँ होर?

तर प्रश्न आफैमा जवाफजस्तै थियो। किनकि म छोरी हो र मैले जन्मघर छोडेर जानै छ। जतिसक्दो चाँडो गएर अर्को घरलाई सम्हाली माइतीघरको इज्जत जोगाई-जोगाई जिन्दगीलाई जिउनु पर्छ। अनि बल्ल म छोरी हुनुको कर्तव्य निभाउन सफल हुन्छु।

तर विडम्बना! ‘अझै २/३ वर्ष आउदिनँ है सानी, हाम्रो लागि एउटा सानो घर बनाउन सक्ने भएर आउँछु है?’ भनेको उसका मलिन अनुरोधलाई सहर्ष स्विकार्दै आजै त म बिहे गर्दै गर्दिनँ भनेर एक्लै-एक्लै निर्णय गरिरहेकी हुन्थेँ।

कहिलेकाहीँ यसो केही पीडा भुलाउनका लागि बजार झर्दा पनि साथीभाइ यसै होच्याउँथे। साथीभाइलाई पनि म आजभोलि मान्छेजस्तै लाग्दैन। सँगैकी साथीको प्रेमी अमेरिकी भिसा बोकेकाले भिनाजु-भिनाजु भनेर सम्मान दिन्थेँ भने मेरा उनीले नमस्कार भनेर सम्मान दिँदा पनि खिस्साए झैँ गरेर नमस्कार भनेर क्यामेरा म तिर नै फर्काइदिन्थे। किन बुझ्दैनथे उनीहरू, राहदानीमा प्रेमको परिभाषा लुकेको हुँदैन भनेर।

विडम्बना! पैसाको मूल्यले मान्छेको भाउ घटाइदिँदो रहेछ।

त्यो चर्को घाममा एकोहोरो दिनरात नभनी दलिँदै गर्दा उसले हाम्रो लागि सोचेको छ भने म किन मेरो लागि मात्र सोच्ने? म नि हाम्रै लागि सोच्छु बरु बाको काँधमा बोझ थप्दिनँ। सहर गएर आफ्नो खुट्टामा उभिएर आफ्नो ज्यानसहित बा-आमाका बोझ नि कम गर्छु भनेर बासँग अनुरोध के गरेकी थिएँ, झनक्क झर्किँदै ‘अब पनि सहर पैसा र रहरका कुरा, यो उमेर अब घरजम गर्ने उमेर हो। अब बिहे गर्ने अनि उतै गएर आफ्नो घर सम्हाल्ने’ भनेर चर्को आवाजमा बोल्दा मन एक्कासी यसै निसासिएको थियो।

भोलिपल्ट बिहानै झिसमिसे उज्यालोमा घरभरि टन्न मान्छे देखेँ। कुरा के थियो भन्ने बुझ्न नपाउँदै छेउमा बसेको दाइले मेरो जिन्दगीलाई सुम्पिने कुरा भइसकेको भनेर मलाई सुनाइरहँदा हतार-हतार भित्र पसेर उनलाई कल गरेँ। उनको फोन लागेन। सायद कतै काममा पिसिरहेका थिए होलान्। अनि उसको साथीलाई कल गरेर ‘मलाई कल गर्न भन्दिनु न’ भन्दै गर्दा नै बाले मेरो फोन थुतेर साथीलाई नै थर्काउँदै ‘अब यो नम्बरमा कल नआओस्’ भनेपछि अन्ततः म हारेँ र जिन्दगीमा त्यसपछि कहिल्यै मैले जित्नै सकिनँ।

इच्छा र खुसी विपरीत ठाउँमा बस्दा पनि आफ्नै काजकृयामा आफै बसेकोजस्तै भान हुँदो रहेछ। अन्तिममा बाले १० वर्षले जेठो मेरो अबको श्रीमानलाई मारे पाप पाले पुण्य भन्दै गर्दा, मेरो मन मार्दा चाहिँ बा कहाँनिर खुसी भएछन् भनेर प्रश्न गर्न मन थियो। तर अफसोच! लगाम लगाएको घोडाजस्तै थिएँ म, जता-जता बाटो देखाउँछन् उतै-उतै हाँकिनुपर्ने। अब उता घर गएपछि मलाई एउटा कुराले झन् पिरल्न थाल्यो, घरको कान्छो भाइ र मेरै श्रीमानमा देखेको भिन्नताले।

खाडी पस्न लागेको छोरोलाई घरबाटै बिदाइ गर्ने आफ्नै आमा-बाले अमेरिका जान लागेको छोरोका लागि आँसु खसाल्दै एयरपोर्टसम्म पुर्याउन गएको देख्दा पनि मनले यही सोच्थ्यो- घर-घरबाटै भिन्नताको उत्पति भएको छ, मैले बा-आमासँग के गुनासो गर्नु र? अनि विस्तारै मनलाई बुझाउँदै गए।

केही महिनापछि मेरा श्रीमान् विदेश लाग्नु भयो। मेरो मनमा पुराना कुराहरू फेरि मन बिथोल्न आउन थाले। सोच्न थालेँ, मेरो विवाहको खबर उनीसम्म त पक्कै कसैले पुर्याइदियो नै होला, त्यसपछि उनलाई मनमा लागेका दुई/चार कुरा पनि सुन्न नपाउने म कति अभागी? उनी कहाँ छन्? के गर्दै छन? कुन हालतमा छन्? भनेर खबर सोध्नसम्म आँट बटुल्न नसकेको म उनी रोगी भएर घर फर्केको खबर एक्कासी सुन्दा मन भक्कानिएको थियो।

घर बनाम्ला है भनेर परदेशीएका उनी कतिन्जेल बाच्छु भनेर आफ्नो भरसम्म लाग्न नसक्ने भएर आउनु परेको कुराको कारण म थिएँ, मलाई थाहा थियो म नै थिएँ। तर के गर्नु? म वचन र बाध्यतामा यसरी बाँधिएकी थिएँ कि फर्केर एक पटक आफ्नो जीवन र खुसीको बारेमा सोच्नसम्म पाइनँ। छोरी त सौभाग्य हो भन्नेले छोरीकै इच्छाहरूलाई मारिरहँदा किन एक पटक फर्केर सोच्दैनन्? यो सबै मातापितामाथि म अनि मजस्तै छोरीको एक प्रश्न।

के साँच्चै छोरीको खुसीको अगाडि राहदानी र औकात ल्याउनै पर्छ र?

के जात र कुल खानदानमा विवाह गरिदिए छोरी खुसी हुन्छे भन्ने निश्चित हुन्छ र?

हुन्छ भने आजभोलि दिनहुँ घटिरहेका घटनाहरूका बारेमा केही सोच्नुभएको छ?

जीवनको कुनै भरोसा छैन, दुई पल खुसी भएर बाच्ने त हो। यही जिन्दगीमा पनि कसैको प्रेमलाई छुटाएर आफ्नो निर्णयमा सन्तानलाई चलाउन खोज्नु कतिसम्म सही हो? एक पटक आफै त्यो स्थानमा बसेर हेरिदिए सजिलो हुने थियो। प्रेमको परिभाषा हुँदैन र प्रेमका अगाडि पैसा आउँदैन, यति कुरा बुझ्न जरुरी छ। सेतोपाटीबाट

२०७८ माघ १२, बुधबार ०९:०० 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।