२०७९ आश्विन २२
  • काठमाडौँ

दिमाग हुनेहरुकै दिमाग भुटदै हाईपर फण्ड को नयाँ ठगि योजना ‘पोन्जी’

काठमाडौ : प्रविधिको विकास भएसँगै मौलाएका वित्तीय अपराधका प्रवृत्तिमा पनि व्यापक विस्तार भएको छ र त्यसैको एउटा कडीका रूपमा हाइपर फन्डमार्फत विगत केही वर्षदेखि शुरू भएको ठगी पनि एक हो ।

हाइपर फन्ड नाम गरेको प्रच्छन्न मुद्रामा लगानी गरी उच्च प्रतिफल दिने घोषणासहित मानिसहरूलाई ठग्ने काम भइरहेको र यो योजनाको पिरामिड प्रवृत्तिको प्रकृति हेर्दा त्यसलाई अर्को प्रकारको ‘पोन्जी स्किम’ मान्न सकिन्छ । यसअन्तर्गत नयाँनयाँ लगानीकर्तालाई फसाउँदै लगिन्छ र तिनीहरूबाट प्राप्त हुने रकम पुराना लगानीकर्तालाई ‘प्रतिफल’ भन्दै वितरण गरिन्छ ।

जबसम्म नयाँ लगानीकर्ताहरू यस्तै प्रलोभनमा परेर लगानी गरिरहन्छन् तबसम्म त यस्तो ठगीकर्म जेनतेन ‘जीवित’ रहला, तर जुन दिन नयाँ लगानीकर्ता यसप्रति आकर्षित हुन छोड्छन्, तब यस्तो ‘ठगीको पिरामिड’ स्वतः भताभुंग हुन पुग्छ र त्यो अवस्थामा पछिपछि लगानी गर्नेहरू

सबैभन्दा बढी शिकार हुन पुग्छन् । हुन त त्यसमा उच्च प्रतिफलको लोभमा लगानी गर्ने सबै नै ठगिएका हुन्छन् तापनि पुराना लगानीकर्ताले आंशिक मात्रामा भए पनि आफ्नो लगानीको कथित ‘प्रतिफल’ प्राप्त गरिसक्ने हुनाले अपेक्षाकृत नयाँ लगानीकर्ता जस्तो उनीहरू शिकार हुनु पर्दैन ।

वास्तवमा हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । एक प्रकारले भन्ने हो भने हाइपर फन्ड लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको

प्रच्छन्न मुद्रा (कृप्टो करेन्सी) हो र यसको कारोबार सञ्चालन गर्ने कम्पनी माथि कुनै पनि नियमनकारी निकायको निगरानी रहेको पाइँदैन । सन् २०१३ मा अमेरिकामा चिनियाँ नागरिक र्यान झुले शुरू गरेको ‘हाइपर टेक’ नामक कम्पनीलाई हाइपर फन्डको प्रारम्भिक स्वरूप मान्न सकिन्छ ।

हुन त हाइपर फन्डजस्तै प्रकृतिको कारोबार गर्ने उद्देश्यले ‘एच क्यास’ नामक प्रच्छन्न मुद्राका स्वरूपमा ‘हाइपर क्यापिटल’ नामक कम्पनी पनि स्थापना गरिएको भए तापनि पछि यस्तो अवधारणा नै अन्त्य गर्दै कम्पनीले कारोबार गर्ने सम्बद्ध वेब साइट नै बन्द गराएको पाइन्छ ।

‘हाइपर टेक’ले भने डेढ वर्षअघि (जुन २०२०मा ) मात्र हाइपर फन्ड योजना प्रारम्भ गर्ने घोषणा गरेको थियो । हाइपर टेक समूहका संस्थापक झू एक सफल लगानीकर्ता तथा उद्यमी हुनुका साथै प्रच्छन्न मुद्रासँग सम्बद्ध ब्लक चेनको क्षेत्रमा समेत सफल व्यक्तित्व मानिन्छन् ।

उनी स्वयं आफूलाई चीनका चार जना ‘बिट क्वाइन किङ’मध्ये एक भएको दाबी गर्छन् । तर, उनले गतवर्षको प्रारम्भमा नै हाइपर फन्डमा गरेको आफ्नो लगानी फिर्ता गरेपछि उनी सर्वजनिक रूपमा हाइपर फन्डसँग आबद्ध भएको पनि पाइँदैन । त्यसो त हाइपर फन्डले पनि अहिले आफ्नो वेबसाइटमा आफ्नो कर्पोरेट कार्यालयको ठेगाना उल्लेख नगरेको सन्दर्भमा यो पनि एक

प्रकारको नाम मात्रको कम्पनी (सेल कम्पनी) भएको आशंका पनि गर्न सकिन्छ । यद्यपि कतिपयले यसले आफ्नो कार्यालय अमेरिकाबाट स्थानान्तरण गरेर दुबई पुर्‍याएको दाबी पनि गरेका छन् तर त्यसलाई न त हाइपर फन्डले वा न त अन्य कुनै स्वतन्त्र निकायले नै पुष्टि गरेको छ । तर पनि यस्ता प्रकारका गतिविधि निमयन गर्ने कुनै पनि प्रकारको कानूनी प्रबन्ध नभएको कारण पोन्जीजस्ता योजना सञ्चालन गर्न दुबई स्वर्गभूमि नै मानिने भएकाले यो दाबीलाई निराधार मान्न सकिँदैन ।

र्यान झूसँगै कल्पेश पटेल तथा रूड्नी बर्टनलाई समेत यसका संस्थापक मानिन्छ । बेलायतका कल्पेश र अमेरिकाका बर्टनले मिलेर दुबईमा विभिन्न प्रकारका पोन्जी योजना सञ्चालन गरेका र त्यसबाट धेरै व्यक्तिहरू शिकार भएको बताइन्छ । यस्ता पृष्ठभूमिका व्यक्तिहरू संलग्न भएकाले पनि हाइपर फन्डलाई ठगी योजनाका रूपमा सजिलै बुझ्न सकिन्छ ।

हाइपर फन्डले भने आफूले विकेन्द्रित वित्तीय पर्यावरण विकास गरेको र यसका सदस्यहरूले यसलाई प्रच्छन्न मुद्राको व्यापक कारोबार गर्ने उपयुक्त मैदान प्रदान गरेको दाबी गरेको छ । हाइपर फन्डमा लगानी गर्नुअगाडि आफू कतै ठगीको शिकार त भइरहेको छैन भन्नेतर्फ लगानीकर्ताहरूले सोच्नुपर्ने देखिन्छ । विशेष गरी हाइपर फन्डको बारेमा निम्न लिखित तथ्यहरूको आधारमा सावधानी अपनाउनु अपरिहार्य देखिन्छ ।

हाइपर फन्ड खास गरी कुनै पनि देशमा कानूनी रूपमा दर्ता भएर कारोबार गरिएको अवस्था छैन । बेलायतदेखि न्यूजिल्यान्डसम्म र नेपालमा समेत यसको कानूनी हैसियत देखिँदैन । यसको सोझो अर्थ भनेको यदि कथं भोलि यो फन्डमा गरेको लगानीबाट कुनै लगानीकर्ता ठगीएको महसूस गर्छ भने उसले त्यस प्रकारको

ठगीको कानूनी उपचार प्राप्त गर्न सक्दैन।बेलायतको वित्तीय नियामक एफसीएले समेत हाइपर फन्डलाई अनधिकृत मानेको छ । यस्तो योजनाले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिने घोषणा त गर्छन् तर त्यो प्रतिफलको स्रोत के हो भनेर कहिले पनि भन्दैनन् ।

यसैबाट पनि नयाँनयाँ शिकारबाट प्राप्त हुने रकम नै पुराना लगानीकर्ताको ‘प्रतिफल’ भएको बुझ्न कठिन छैन । फेरि जुन नयाँ लगानीकर्ता हुन्छ उसको प्रतिफल पनि उसले भविष्यमा बनाउने नयाँ सदस्य संख्याको आधारमा निर्धारण हुने भएपछि त्यसको पछाडिको नियत सजिलै बुझ्न सकिन्छ ।

हाइपर फन्डको आफ्ना सदस्यहरूलाई उपलब्ध गराउने गरी कुनै पनि प्रकारको सेवा तथा वस्तुहरू अस्तित्वमा छैनन् । केवल अभौतिक प्रच्छन्न मुद्राको नाममा मात्र लगानी गर्दा त्यो लगानी ठगीको लागि उपयुक्त माध्यम मात्र बन्न सक्छ ।

यिनै कारणले अहिले विश्वका अधिकांश मुलुकमा हाइपर फन्ड प्रति सावधान हुन सूचित गरिएको पाइन्छ । नेपालमा पनि हाइपर फन्डमा लगानी गर्ने प्रवृति आम रूपमा फैलिसकेको देखिन्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमै यसमा लगानी गर्नेहरूका लागि समूह बनाएर गतिविधि अगाडि बढेको सन्दर्भमा यसको ‘लोकप्रियता’ निकै नै रहेको पाइन्छ ।

छिट्टै उच्च प्रतिफल पाइने लोभमा नेपालीहरू पनि यसको शिकार भइरहेको सन्दर्भमा सरकारले गत असार ३० गते हाइपर फन्ड, जोसियल, क्राउड ओन, सोल म्याक्स, प्वाइन्टविस, विन्टरजस्ता नेटवर्किङ प्रकृतिका ‘अवैध’ लगानी योजनामा सहभागी भई पूँजी पलायन गर्न सहयोग गर्नेहरूलाई प्रचलित कानूनअनुसार १० लाखसम्म जरीवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेतर्फ ध्यानाकर्षण गराएको छ र

त्यस्तो गतिविधिमा सामेल नहुन सचेत गराएको छ । तर, एउटा सूचनाको भरमा मात्र यस्ता ठगी नियन्त्रण गर्न नसकिने भएकाले सरकारले प्रभावकारी कदम चल्नुपर्ने देखिन्छ । आजको अभियान दैनिकमा रमेश भण्डारीले लेखेका छन।

२०७८ माघ ११, मंगलवार ०८:३० 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।