२०७९ असार १५
  • काठमाडौँ

चोरबाटोबाट डलर कमाउन जाँदा सडकमा पुगेको एउटा परिवार

गएको आइतबार दिउँसोको कुरा हो। इलाका प्रहरी कार्यालय प्रमुख शिबबहादुर सिंहको कार्यकक्षमा सानो बच्चा बोकेकी एउटी महिला ढोकामा उभिइन्।उनी निकै आत्तिएको जस्तो देखिन्थिन्। आफू धेरै बेरदेखि बाहिर पर्खिरहेको बताइन्।

‘खै, ती मान्छे आज पनि आउँदैनन् जस्तो छ। सायद, उसले आफ्नो श्रीमानलाई आज पनि भगाइ होली,’ यति भनेर उनी एकाएक रून थालिन्।डिएसपी सिंहले उनलाई भित्र आउन आग्रह गरे। उनीसँगै अर्का एक युवक र अधवैशे महिला पनि भित्र आए।

उनीहरू घोराही उपमहानगरपालिका-१६ रावत गाउँकी सुष्मा रावत र उनका श्रीमान वीरेन्द्र दसौदी रहेछन्। काखको ४ महिने उनीहरू नानी र अर्की अधबैंसे महिला रावतकी दिदी रहिछन्।

अघिल्लो वर्षसम्म सुष्माको परिवारीक जीवन सरल रूपमा चलिरहेको थियो। विरेन्द्र इञ्जिनेरिङ कन्सल्टेन्सीमा काम गर्थे। सुष्मा पनि श्रीमानसँगै नेपालगञ्जमै बस्न थालिन्।

त्यहीँ बीचमा तुलसीपुर उपमहानगरपालिका-७ का श्याम गुरूङले विरेन्द्रलाई फोन गरि विदेश जानु भनि डलरको लोभ देखाए ।

गुरूङलाई विरेन्द्रले आफ्नै भिनाजुसरह सम्मान र विश्वास गर्थेगुरूङकी श्रीमती सम्झना ठकुरीसँग विरेन्द्रले तिहारमा टिका थापेको चार वर्ष पुगिसकेको थियो ।

सम्झनाका भाइ कृष ठकुरीसँगको मित्रतामा विरेन्द्रले सम्झनालाई दिदी बनाएका थिए।

उनीहरू एकै घरका परिवार जस्तै भएका थिए। एक अर्कालाई सम्मान र सहयोग गर्थे। आवात जावात बाक्लै हुन्थ्यो।

‘म न्यूजल्याण्ड गएर भरखरै आएको छु। एकदमै राम्रो ठाउँ छ। कमाई राम्रो हुन्छ। पठाउने मान्छे पनि राम्रो छ। विरेन्द्र तिमी त्यहाँ जाउ भविश्य बन्छ,’ श्यामले विश्वस्त पारे।

विरेन्द्र श्यामले देखाएको लालचको जालमा सहजै फसे। श्यामले आशंका गर्ने ठाउँ पनि दिएनन्। विदेश मानिसहरु पठाएको, आफू पनि विदेशबाट आएको भनेर थुप्रै फर्जी कागजात देखाएर उनलाई विश्वास दिलाए।

विरेन्द्रको परिवारले रावत गाउँको घरबास बेचेको र लाखौं पैंसा राखेको थाहा पाए पछि श्यामले विदेशको लालचा देखाएका थिए।

विरेन्द्रको परिवारले गाउँको घरबास बेचेर घोराहीमा एउटा घर किन्न भनेर आधाभन्दा बढी पैंसा बैना गरिसकेका थिए। बाँकी पैंसा केही समयपछि दिने भन्ने भाका थियो।

गत वर्ष माघको अन्तिम साता भिनाजु श्यामको सल्लाह अनुसार विरेन्द्र कन्सल्टेन्सीको जागिर छोडेर भारत पुगे। छोरा विरेन्द्रलाई न्यूजील्याण्ड पठाउन ७० वर्षीय बुवा वीरबहादुर दसौदी, सुष्मा र उनका देवर पनि भारत गएका थिए।

श्यामले एक सातामा न्यूजील्याण्ड उडान हुन्छ भनेका थिए। उनले यसका लागि १८ लाख खर्च लाग्ने भनेका थिए। उनले पैंसा न्यूजील्याण्ड पुगेर दिए पनि हुन्छ पनि थप विश्वास दिलाएका थिए।

विरेन्द्र घरबाट भारत जानुअगाडि भिसा प्रोसेसका लागि भनेर श्यामले ८० हजार रूपैयाँ पैसा मागेका थिए। उनी भारत पुगिसकेपछि पुनः श्यामले टिकटका लागि भन्दै भारू दूई लाख रुपैंया मागे।

दिउँसो दुई लाख लिएर गएका श्याम बेलुका विरेन्द्र र उनको परिवार बसेको कोठामा अकै एक जना अपरिचित मानिस लिएर पुगे। श्याम र अपरिचित ती व्यक्तिले विरेन्द्र र उनको परिवारसँग फरक-फरक कुरा गरे।

ती अपरिचित व्यक्तिले विदेश उड्ने बेलामा सबै पैसा देखाउनुपर्छ भन्न थाले। श्यामले पनि ती व्यक्तिको कुरा सही हो भनेपछि विरेन्द्रका परिवारले विश्वास गरे।

श्यामलेनै बाँकी पैंसा विदेश गइसकेपछि दिए हुन्छ भनेकाले विरेन्द्रका परिवारले केही खर्चबाहेक धेरै पैंशा बोकेका थिएनन्।

श्यामले भोलि नै उडान हुने तर एयरपोर्टमा पैंसा नदेखाए जान नपाइने बताए। तुरून्त नेपाल गएर पैंसा लिएर रातारात नआए टिकट रद्द हुनसक्ने भने।

श्यामलाई पुरै भरोसा गरेर भारत पुगेका विरेन्द्र र उनको परिवारले कुनै आशंका गरेनन्।

७० वर्षीय वीरबहादुर दसौदी र उनका कान्छा छोरा रातारात नेपाल फर्किए। घर बेचेर बैंकमा राखेको पैंसा निकालेर सोही दिन भारत फर्किए।

त्यहाँ पुगेर थप १४ लाख रूपैयाँ श्यामको हातमा थमाईदिए। त्यसको केहीबेरमा श्यामले वीरेन्द्रलाई दिल्ली एयरपोर्ट बोलाए। एयरपोर्टमा वीरेन्द्रलाई बुवा वीरबहादुर, श्रीमति सुष्मा, भाइ र भिनाजु श्यामले बिदाईका हात हल्लाए। विछोडमा सुष्मा, बुवा वीरबहादुरका आँखामा आँसु देखिए। बुवा र श्रीमतीले आफ्नो ज्यानको ख्याल गरेर काम गर्नू भनि सम्झाए।

वीरेन्द्र उडेपछि तत्कालै दसौंदीको परिवार नेपाल फर्कियो। उता दिल्लीबाट उडेको प्लेन मुम्बई एयरपोर्ट पुगेर ल्याण्ड भयो। मुम्बईबाट वीरेन्द्रको ट्राञ्जिट हंकङ भएर अक्लिनमा थियो। तर, मुम्बईबाट वीरेन्द्र अगाडि बढ्न पाएनन्। उनको टिकटलाई एयरपोर्टका कर्मचारीले फर्जी भनेर यात्रामा ब्रेक लगाईदिए।

अनि वीरेन्द्रले भिनाजुबाट आफू ठगिएको थाहा पाए। तर पनि विरेन्द्रले घर परिवारलाई त्यो कुरा लुकाए। पारिवारीक सम्वन्धमा खलल नआओस भन्ने चाहाना वीरेन्द्रको थियो।

त्यसपछि लगतै कोभिड १९ को महामारी सुरू भयो। वीरेन्द्र भारतमै थुनिए। उनले खोज्दै श्याम कहाँ पुगे। श्याम आफैंले वीरेन्द्रलाई सवै पैंसा फिर्ता गर्ने आश्वासन दिए।

वीरेन्द्रले झन्डै १५ सय जति डलर जोगाएर राखेका थिए। वीरेन्द्रले केही समयपछि आफैंले खर्च गरेर भिनाजु श्यामलाई दाङ लिएर आए।

श्यामले ढुकुटी खेलेको हुँदा त्यो निकालेर वा पसल बेचेर भए पनि २० लाख पैंसा तिर्ने भनेर उनलाई विश्वास दिलाए ।

‘चिन्ता नगर साला, काम मैले विगारेको हुँ र म नै मिलाउँछु, तिम्रो सबै पैंसा दिन्छु,’ भन्दै फुलाउँदै आए। तिर्नुपर्ने सबै पैंसाको कागज गरिदिन्छु भनेर विश्वास पनि दिलाए। पछि लकडाउन खुलेपछि फेरि विदेश पठाइदिने आश्वासन पनि दिन्थे ।

तर, विस्तारै श्यामले फरक कुरा गर्न थाले। झोक्किने र निहुँ खोज्न थाले। ‘मलाई पैंसा दिएको प्रमाण के छ?,’ भन्न थाले ।

अनि श्यामले फोन नम्बरहरू परिवर्तन गर्दै गए। नयाँ फोन नम्बर पत्ता लगाएर फोन सम्पर्क गर्दा पनि श्याम रिसाउने र थर्काउने गर्न थाले। ‘तलाई चिन्दैन, त को होस्’ सम्म भन्न थाले। आफ्नै पैंसा माग्दा धम्की खेप्नुपर्‍यो। के गर्न सक्छौं गर? भन्ने चुनौति दिँदै हिँडे।

यस्तो हुँदा पनि दसौदी परिवार सकभर सानो बनेर सम्झाएर आफ्नो गुमेको रकम फिर्ता गर्ने प्रयासमा लागिरह्यो। तर केही उपाय चलेन।

उता दसौदी परिवारले नयाँ घर किन्दा भएको सम्झौंता अनुसार पैंसा बुझाउन सकिरहेको थिएन। वीरेन्द्र विदेश जालान् र उनले पैंसा कमाएर पठाएपछि बाँकी पैंसा तिरौंला भन्ने सपना दसौंदी परिवारको थियो।

अब त वीरेन्द्रको जागिर पनि थिएन। विदेश पनि जान सकेनन्। गाउँमा भएको घर जग्गा पनि बिक्रि भइसकेको थियो। आधा पैंसा बुझाएको घरमा बस्नसमेत थालिसकेका थिए।

अब उनीहरूसँग भनेको समयमा उक्त घरधनीलाई पैंसा बुझाउन सक्ने अवस्था रहेन। समयमै बाँकी पैसा नबुझाएपछि उनीहरूले घर छोड्नुपर्‍यो। बैनारकमसमेत जफत भयो। आज दसौंदी परिवार सडकमा आइपुगेको छ ।

‘बुवा वीरबहादुर र आमा छुट्टै कोठा भाडामा लिएर बस्नुहुन्छ,’ सुष्माले रूँदै भनिन्, ‘हामी छुट्टै ठाउँमा कोठामा बस्छौं।’

यति मात्रै होइन, आज घर परिवारले वीरेन्द्र र सुष्माका कारण आफूहरू सडकमा आउनुपरेको भन्न थालेका छन्। परिवारमा झगडा र विखण्डन उत्पन्न भएको छ ।

उता श्याम सम्पर्कविहिन छन्। उनकी श्रीमति सम्झना ठकुरीले पनि श्रीमान बारे अनभिज्ञता प्रकट गर्छिन्।

‘जागिर कसैको छैन। कमाई एक रुपैंया छैन। अब यति सानो बच्चालाई मैले के खुवाएर पाल्ने। हामी कसरी कसरी बाँच्ने,’ सुष्माले डिएसपीसामू रूदै भनिन्, ‘यस्तै हुने हो म सबै लेखेर विष सेवन गरि मरिदिन्छु।’

सम्झनाले यी कुरा रूदै डिएसपी शिबबहादुर सिंहको कार्यकक्षमै भनेकी हुन्।

यो सबै सुनिसकेपछि डिएसपीले सुष्मालाई सम्झाउने कोशिस गरे।

‘सानो काखको नानीलाई हेर्नुहोस् तपाईँ मरे उसले के गर्ला,’ डिएसपीले सम्झाउँदै भने, ‘आत्महत्याको बाटो रोज्नु कायरता हो। मृत्यु समस्याको समाधान होइन। तपाईँ बाँचेपछि मात्रै त्यस्ता फटाहालाई तह लगाउन सजिलो हुन्छ। त्यसैले तपाईँले मर्ने सोच त्याग्नुहोस्।’

विषयको गाम्भीर्यतालाई मनन् गर्दै डिएसपी सिंहले तत्कालै श्याम गुरूङको श्रीमती सम्झना ठकुरीलाई कार्यालयमा बोलाउन लगाए। उनले ४/५ दिन भित्रै आफ्ना श्रीमान श्यामलाई उपस्थित गराउने प्रतिबद्धता प्रहरीसामू जाहेर गरिन्।

सुष्मा र उनका श्रीमान वीरेन्द्रले जिल्ला प्रहरी कार्यालयमा यसअघि नै जोहरी दिइसकेका थिए । तर, प्रहरीले श्यामलाई अझैसम्म फेला पार्न सकेको छैन।

चोरबाटो भएर विदेश जाने र अकुत कमाउने सोच पालेर २० लाख बढी फसाउने सुष्मालाई आज काखको नानीको भविश्य कल्पेर ठूलो चिन्ता भइरहेको छ ।

त्यही भएर उनले प्रहरी अधिकारी समक्ष नै मृत्यु रोज्छु भन्न सम्म भ्याएकी हुन्।

डिएसपी सिंहले उपलब्ध भएसम्मका आफ्ना सबुद प्रमाण प्रहरीलाई दिन आग्रह गरे।

डिएसपीको आश्वासनले सुष्माको अनुहारमा थोरै चमक आयो। गुमेको २० लाख फिर्ता आउने झिनो आशामा सुष्मा आफ्नो चार महिनाको नानी च्यापेर घर फर्किइन्।

यसरी गैरकानुनी रूपमा चोरबाटो प्रयोग गरेर विदेश उड्ने थुप्रै छन्। भाग्यले साथ दिएका र ठाउँमा पुगेका कतिपयले ठिकै गरेका छन्। तर अधिकांशको यस्तै हालत भएको छ।

यसबारे सरोकारवालाले बेलैमा सोच्च जरूरी छ।

२०७७ चैत्र ४, बुधबार ११:१० 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार