२०७९ आश्विन १४
  • काठमाडौँ

ट्राफिक व्यवस्थापनका लागि राखिएका ट्राफिक डमी नै ‘असुरक्षित’

जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा सघाउ पुगोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा राखेका ट्राफिक डमी आफैं असुरक्षित हुने गरेका छन् ।

मानिसकै साइजमा सडकको छेउमै ठड्याइएका डमी झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले चालक तथा यात्रुहरू सवारी र सडकको नियम पालनामा सतर्क बन्छन् भन्ने ट्राफिक प्रहरीको विश्वास थियो।

सोही अनुरूप गत कात्तिक महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका तीन वटा स्थानमा ट्राफिक डमी राखेको थियो।

ट्राफिक डमीसँगै राखिएका कोभिड- १९ र विभिन्न ट्राफिक नियमसम्बन्धी जानकारीले चालक तथा यात्रुहरूलाई सचेतना वृद्धि गरेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पनि बुटवलका तीन वटा स्थानमा डमी ट्राफिक राखेको थियो।

तर प्रहरीको अनुपस्थितिमा चालक र यात्रुलाई सचेत र सतर्क बनाउन राखिएका तिनै ट्राफिक डमी समेत प्रहरीको अनुपस्थितिमा ‘असुरक्षित’ हुने गरेका छन्।

गत महिना बुटवल पुष्पलाल पार्कमा राखिएको ट्राफिक डमी रातको समयमा सडकबाटै गायब भयो। सडकबाटै डमी उठाइँदै पनि नजिकै लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी गेट अगाडि रहेको सशस्त्र प्रहरी बिटका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्।

भोलिपल्ट सडकमा डमी नदेखेपछि सिसिटिभी क्यामेराको फुटेजको आधारमा ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई डमीसहित कोठाबाट नियन्त्रणमा लियो। त्यसअघि पनि डमीको चस्मा, टोपी निकालिने भइरहेको थियो। सडकबाट डमी नै उठाउन थालेपछि प्रहरीले ट्राफिक चोकमा रहेको प्रहरी बिट अगाडि लगेर राखेको छ।

अहिले फेरि भैरहवाको बर्मेलीटोलमा राखिएको डमीको पोशाक च्यातिएको र डमी तोडफोड गरिएको अवस्थामा फेला परेको छ।

गत आइतबार राति १२ बजेपछि युवाहरूको एक समूहले ट्राफिक डमीको पोशाक च्यात्ने र डमी नै तोडफोड गरी नेपाल खानेपानी संस्थानको कार्यालय अगाडि लगेर राखेको अवस्थामा प्रहरीले सोमबार बिहान फेला पारेको छ।

यसअघि पनि उक्त डमीको हातमा राखिएका सन्देशमूलक पर्चा पम्प्लेट, चस्मा, टोपी लगायतका सामग्री चोरी हुने गरेपछि प्रहरीले राति १० बजेपछि भोलिपल्ट बिहान ६ बजेसम्म डमीलाई नै उठाएर प्रहरी बिटमा लगि राख्दै आएको थियो।

तर पछिल्लो एक महिनायता भने २४ घण्टा नै सडकमा राख्दै आएकोमा आइतबार राति भने तोडफोड गरी अन्यत्र लगि राखिएको अवस्थामा फेला पारेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक दिवश बहादुर जिसीले सडकमा राखिएको सिसिटिभी फुटेजलाई हेर्दा डमी तोडफोडमा अन्दाजी २२/२५ वर्ष उमेरका ५ जना युवाहरूको संलग्नता देखिएको र त्यसैको आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।

ट्राफिक प्रहरीकै जस्तै जुत्ता, बेल्ट, टोपी र पोशाकसहितको डमी तयारी अवस्थामा ल्याउँदा करिब २० हजार रुपैयाँ खर्च लाग्ने भए पनि जिल्ला ट्राफिक प्रहरीले भैरहवाका देवकोटा चोक, मिलनचोक र बर्मेलीटोल गरी तीन स्थानमा डमी राखेको थियो।

देवकोटा चोक र मिलन चोकमा २४ घण्टा सुरक्षाकर्मीको उपस्थिति रहने भएकोले हालसम्म डमी सुरक्षित रहेको भए पनि रातिको समयमा प्रहरीको उपस्थिति कम हुने भएकोले बर्मेलीटोलमा रहेको डमी नै असुरक्षित भएको प्रहरी निरीक्षक जिसीले बताए।

यसअघि मानसिक सन्तुलन ठिक नभएका व्यक्तिहरूले टोपी, चस्मा निकालिदिने गरेको भए पनि यसपटक भने डमी तोडफोड र पोशाक च्यातिदिने कार्यमा सिसिटिभी फुटेजमा ५ जना युवाहरूको संलग्नता देखिएकोले मानसिक सन्तुलन ठिक नभएको व्यक्ति भन्दा पनि अपराधिक तथा अराजक समूहको संलग्नता रहेको हुनसक्ने उनले बताए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले प्रहरीको अनुपस्थितिमा चालक र यात्रुहरूलाई सचेत बनाउन राखिएका डमी नै तोडफोड हुनु दु:खद् भएको बताए।

बुटवलको पुष्पलाल पार्कबाट लगिएको डमीसहित पक्राउ परेका व्यक्ति आफूलाई पूर्वमाओवादी लडाकु बताउने मानसिक सन्तुलन गुमाएका व्यक्ति भए पनि भैरहवाको घटना भने समाजमा अराजकता चाहने समूहजस्तो देखिने उनले बताए।

बुटवलमा डमीसहित पक्राउ परेका व्यक्तिले आफूलाई ट्राफिक प्रहरीको पोशाक लगाउने चाहना भएकोले डमी नै उठाएर लगेको प्रहरीसामु बताएका थिए।

सडकमा ट्राफिक प्रहरी देखेमात्र ट्राफिक नियम पालना गर्ने नत्र बेवास्ता गर्दै आँखा छलेर नियम उल्लंघन गरी हिँड्ने चालक तथा यात्रुहरूको आमप्रवृत्ति छ। सडकमा गुड्ने सवारी साधन र यात्रुहरूको तुलनामा अत्यन्त न्यून संख्यामा रहेको ट्राफिक प्रहरीले ट्राफिक नियम र कोरोना संक्रमण नियन्त्रणसम्बन्धी सचेतनाका लागि डमीको प्रयोग गर्ने जुक्ति निकालेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले भैरहवाका तीन स्थान र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सवारी साधन तथा यात्रुहरूको अत्यन्त चाप रहने योगिकुटी, राजमार्ग चौराह र पुष्पलाल पार्कमा डमी राखेको थियो।

सुरूका केही महिना ट्राफिक डमीको सकारात्मक प्रभाव देखिएपछि प्रदेशका १२ वटै जिल्लामा डमी राख्ने तयारी गरेको थियो। तर सुरक्षाकर्मीको अनुपस्थिति र रातिको समयमा डमी नै असुरक्षित हुन थालेपछि भने अरू जिल्लामा डमी राख्ने योजना अगाडि नबढाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

‘हाम्रो उद्देश्यले प्रहरीको अनुपस्थितिमा डमीलाई देखेर नै यात्रुहरू सतर्क बनुन्, जनशक्ति अभाव रहेको ट्राफिक प्रहरीलाई सघाउ पुगोस् भन्ने थियो, तर डमी नै रातिको समयमा चोरिन थालेपछि अन्यत्र थप्ने योजना अगाडि बढाइएको छैन,’ उनले भने।

हाल लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा प्रहरी उपरीक्षकको नेतृत्वमा जम्मा ४ सय ८७ जना जनशक्ति कार्यरत छन्।

यही जनशक्ति १२ जिल्लाको ट्राफिक व्यवस्थापन तथा दुर्घटना पछिको उद्धारमा समेत खटिने गरेको छ। तीमध्ये पनि लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवलमा १ सय २ र भैरहवामा ६० जना कार्यरत छन् भने बाँकी प्रहरी प्रदेशका अरू जिल्ला र सहरमा कार्यरत छन्।

२०७७ चैत्र ३, मंगलवार १९:२४ 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।