२०७९ आश्विन २१
  • काठमाडौँ

चोर बाटोबाट अमेरिका पुग्दा…

ब’न्दुकको ठूलो आवाजले हाम्रा हिँड्दै गरेका पाइला एकाएक रोकिए। घना जङ्गलबाट निस्किएर ब’न्दुकधा’री लुटेराहरू हामीलाई घेरा हाल्न थाले।

हतियार तेर्साउँदै चर्को स्वरमा उर्दी दिएपछि हामीले घुँडा टेक्यौं र दुवै हात हावामा उठायौं।ती लुटेराले हाम्रा झोला खोतले, एकएक गर्दै लुगाफाटा केलाए अनि शिरदेखि पाउसम्म छामे। पैसा लुकाउन सक्ने आशङ्कामा भित्री वस्त्र समेत खोलेर हेर्न पछि परेनन्। बन्दुकको नाल निधारमा टँसाएर मेरो हातको घडी फुकाल्दै गर्दाको क्षण मलाई जीवन र मृत्युको दूरी निकै छोटो लाग्यो।

‘यसरी अमेरिका जान खुब ख’तरा हुन्छ भन्छन् त बाबु !’ आमालाई चिन्ता थियो।‘केही खतरा हुन्न आमा। तपाईं ढुक्क हुनुस्,’ मैले सजिलै ढाँटिदिएको थिएँ।बुवाको शेषपछि घरकोआर्थिक संकटले झनै पिरोल्न थाल्यो मलाई।

जेनतेन चलेको चियापसल पनि कोरोनाले ठप्प पारिदिएपछि परिवारको छाक टार्न समेत हम्मे बन्यो। अभावै अभावले सधैं घेरिएर बस्दाको तिक्तताले भित्रभित्रै गुम्सिएँ। यसको उन्मुक्तिमा दिनरात छट्पटाइ हिँडेको बेला कसैले सुनाइदियो मलाई- चोर बाटोबाट अमेरिका पुगिन्छ।

घरबाट हिँडेका हामी तीन नेपाली कयौं अवैधानिक अड्चन पार गर्दै २७ दिनपछि कोलम्बिया आइपुग्यौं। अमेरिकासम्म पुग्न हाम्रोअर्को गन्तव्य पानामा थियो। कोलम्बियाबाट पानामासम्म पुग्न ६६ माइलको डारिएन ग्याप् पैदलै पार गर्नुपर्छ।

कुनै पनि मानव बस्ती नरहेको त्यस क्षेत्र पूरै घना जङ्गलले ढाकिएको थियो।निकै घना जङ्गल, हिंस्रक र विषालु जीव,लुटेराहरूको उत्तिकै विगविगी अनि भौगोलिक अप्ठ्यारोका कारण डारिएन ग्याप्कोयात्रा निकै कठिन र जोखिमपूर्ण थियो।
कोलम्बियाको सानो गाउँमा अन्य देशका थुप्रै

आप्रवासीहरूसँग हाम्रो भेट भयो। डारिएन ग्याप् पार गर्न हामीलाई हामीजस्तै गैरकानुनी रूपमा अमेरिका हिँडेका सहयात्री भेटिए। दुई दिनपछि त्यस गाउँबाट उत्तरतिर लाग्दा हामी तीन नेपालीसहित १४ जनाको समूह भयौं।‘पैसामात्र हैन हाम्रो सबै खानेकुरा समेत लुटेर लगे,’ बाबुरामले रित्तो झोला देखाउँदै भने,‘अब के खाने ?’

कोलम्बियाको सानो गाउँमा अन्य देशका थुप्रै आप्रवासीहरूसँग हाम्रो भेट भयो। डारिएन ग्याप् पार गर्न हामीलाई हामीजस्तै गैरकानुनी रूपमा अमेरिका हिँडेका सहयात्री भेटिए। दुई दिनपछि त्यस गाउँबाट उत्तरतिर लाग्दा हामी तीन नेपालीसहित १४ जनाको समूह भयौं।‘पैसामात्र हैन हाम्रो सबै खानेकुरा समेत लुटेर लगे,’ बाबुरामले रित्तो झोला देखाउँदै भने,‘अब के खाने ?’

‘धन्न मारेनन्।’भुइँमा बसेर रमेशले डरले कामेको स्वरमा भने, ‘लुगाफाटा र भाँडावर्तन लगेनछन्।’भयानक डरबाट तङ्ग्रेपछि सबै रोइकराइ गर्न थाले। घना जङ्गलभित्र हिँडेको तेस्रो दिनमै हामी लुटेराहरूका फन्दामा पर्‍यौं। तिनीहरूले सबै लुटेर बीच जङ्गलमा हामीलाई हाम्रो अमेरिका पुग्ने सपनामात्र छाडेर गए। हामी त्यही सपना पछ्याउँदै पुनःअघि बढ्न थाल्यौं।हामी संयोगका सहयात्रीहरू भिन्न देशका तर उस्तै जस्तो हाम्रो बाध्यता।

देशको विद्यमान राजनीतिक तिक्तता, असुरक्षा, बेरोजगार र आर्थिक संकटबाट उन्मुक्तिको आशमा एउटै सपनाको यात्रामा हिँडिरहेका थियौं। रहरले डोराएको यात्राभन्दा पृथक बाध्यताले कोरेको यो यात्रा न त सुरक्षित थियो न त गन्तव्यसम्म पुग्न भरोसा योग्य नै।थुप्रै खोलानाला, मुटु काम्ने चट्टानहरू, अप्ठ्यारो उकालो र डर लाग्दो भिरालो पहाडहरू पार गर्दै हामी अनन्त हिँडी नै रह्यौं।

घनघोर जङ्गलको यात्रामा हिँडिरहेको हाम्रो भोको शरीरबाट बिस्तारै ताकत हराउँदै गयो। साथमा बोकेको सबै खानेकुरा लुटिएपछि रित्तो पेट हिँड्नुको बिकल्प थिएन। मानव बस्तीरहितको यस डारिएन ग्याप्मा कसैको कतैबाट सहयोग पाउनु असम्भव थियो।‘यही जङ्गलमा खोजेर खानेकुराको व्यवस्था मिलाउनु पर्छ अब, ’ कसैले सुझाए।

‘अलमल गर्नुहुन्न। फेरि पनि डाँकाहरूको फन्दामा परिन्छ। बरू फटाफट हिँड्यौं भने डेढ-दुई दिनमा यो जङ्गल पार गर्न सक्छौं।’अर्काले मनासिब तर्क दिए।चाँडै पानामा पुगिने आशमा भोगलाई दबाएर यात्रालाई निरन्तरता दियौं। मनमा उब्जेको आशले पेटको भोगलाई सजिलै दबाइदियो।पाचौं दिनमा हामीलाई वर्षाले खुबै बिथोल्यो। मध्यदिनबाट बर्सिएको पानी निरन्तर परि नै रह्यो।

साँझ पर्नै लाग्दा हामी फराकिलो खोलाको किनारमा आइपुग्यौं।अघिल्ला दिनमा तरेका खोलाभन्दा ठूलो यो खोला अविरल वर्षाले उर्लेको थियो। खोलावारि थाकेका हामी, खोलापारि हाम्रो मीठो सपना।विलम्ब गरे पानीको प्रवाह अझै बढेर हाम्रो यात्रा लम्बिने निश्चित प्रायः थियो।खोलाको गहिराइ र प्रवाह दुवैलाई हामीले निकै कम आँकेका रहेछौं।

छातीसम्म आइपुगेको पानीले बगाउँला झैं गरी बेतोडले धकेलिरह्यो। एकअर्काको हात समात्दै सम्हालिएर पाइलाहरू बिस्तारै चाल्दै अघि बढ्यौं खोलाको अर्को पट्टि बगरमा उत्रनै लाग्दा एक्कासि सबै भावविह्वल भएर चिच्याउन थाले।हतासमा पछाडि फर्केर हेर्दा पानीको छालसँगै तीन जना बग्दै गरेको कहालीलाग्दो दृश्य देखें। हंसले ठाँउ छाड्यो, शरीर डरले लुलो बन्यो। छेउमै उभिएको रमेश उफ्रदै करायो,‘बाबुरामलाई पनि बगायो।’

खोलाले बगाउँदै गरेकाहरू गुहार माग्दै चिच्याए। हामी चिच्याउँदै गुहार माग्यौं। खोला अटेर गरी एकनासले बग्दै गयो, बगाउँदै लग्यो। बगरमा उभिएर साँझको थोरै उज्यालोमा देखुञ्जेल ती तीनलाई हामीले हेरिरह्यौं। केही बेरमा तिनीहरू बिलाए, तिनीहरूका चित्कार सुसाउँदै गरेको खोलामा साम्य भयो। त्यसपछिको सन्नाटाले हामीलाई धेरै बेरसम्म बिचलित बनायो।

कठै बाबुराम ! कोशीको बाढीले लतारेको आफ्नो घर उठाउने उनको ठूलो सपना आधा विश्वपारिको सानो खोलाले तुहाइदियो। त्यस दिन उनीसँगै उनको अमेरिका पुग्ने सपना डुब्यो।गरिबीबाट माथि उठ्ने उनको परिवारको आशाको दीयो कहिल्यै नबल्ने गरी निभ्यो। सपना बोकेर हिँडेका उनलाई पत्तै नपाइ मृत्युले पहिला उछिनिसकेको रहेछ।

बाबुरामसँगै बगेका अन्य देशका दुई जनाले पनि अमेरिकासम्म पुग्ने यात्रा त्यही खोलामा सधैंका लागि विश्राम गरे।हामीले सहयात्री गुमायौं तर यात्राको अठोट गुमाएनौं।सायद पछाडि के छोडियोभन्दा अगाडि के भेटिन्छ भन्ने नै जीवनको सार रहेछ।भोलिपल्ट बिहानै अघिल्लो दिनझैं हामीले हाम्रो यात्रालाई निरन्तरता दियौं। ‘धेरै कष्ट खेप्नुपर्छ भन्छन्। हिँडेरै पुग्न त निकै दिन पो लाग्छ कि ?’ श्रीमतीले आँसु खसाल्दै भनेकी थिई।

टम्म फुलेको उनको गर्भमाथि हात राख्दै भनें, ‘भुन्टे नजन्मँदै म अमेरिका पुग्छु। तिमी नआत्तिनू।’फतक्क गलेका गोडाहरू उकालो चढ्दै गर्दा मैले सपनाको मूल्य तौलिएँ।घर छाड्ने बेलामा कपाल सेताम्मे फुलेको आमाको आँसुले मन निकै निचोर्‍यो मेरो।भित्तापट्टि मुख छोपेर डाँको छाड्दै रोएकी श्रीमतीलाई नरोऊ भन्ने हिम्मतै आएन।

मैले त रोगी आमाको दवाई खर्च जुटाउने छोराको कर्तव्यको साधारण सपना देखेको थिएँ। श्रीमतीले चार वर्ष पुरानो फरिया पाँच ठाउँमा टालेर लगाएको देख्दा मेरो आत्मा साँच्चै रून्थ्यो। मैले त श्रीमतीको फरिया फेरिदिने मामुली सपना देखेको थिएँ। आखिर मैले देखेको सपना त म जतिकै सरल थियो।आफ्नाको थोरै खुसीको निम्ति मैले आफ्नालाई नै छोडेर हिँडें। कानुनलाई छल्दै हजारौं माइल टाढा कोलम्बियसम्म आइपुगें।

लुटेरासामु घुँडा टेकें, सँगै आएको बाबुरामलाई आँखासामु गुमाएँ। रित्तो पेटको यात्रा कहाँ टुङ्गिने हो त्यसको पत्तो थिएन। अमेरिकासम्म पुग्न सकिएन भने ? आखिर अमेरिका पुगेँ नै भने पनि सपनाको जस्तो अमेरिका भैदिएन भने ? यी सब भोगाइ व्यर्थ हुन् त ? अन्तमा पाएको र गुमाएको मूल्य कति फरक हुन्छ त्यो भावी दिनहरूले पक्कै बताउला।

६ दिनमा पार गर्ने भनिएको जङ्गल सातौं दिनको साँझसम्म पनि छिचोल्न सकिएन। हिँड्दै जाँदा हाम्रो समूह भने बिस्तारै छिन्नभिन्न हुन पुग्यो। म र रमेशसँगै थियौं। हाम्रो अगाडि हिँडेकालाई हामीले भेट्न सकेनौं। पछाडि छुटेकाले हामीलाई भेट्टाउन सकेनन्। आखिर कसैले कसैलाई पर्खेनन्।

गोडाहरू लर्खराउन थाले, आँखा धमिलो बन्यो। आफ्नै शरीरले आफैंलाई थिचिरहेको महसुस हुन्थ्यो। सानो गौडा उक्लँदा पहाड चढेझैं लाग्न थाल्यो। पानीले पेट भरे पनि शरीरलाई ताकत रत्तिभर दिन सकेन।‘हामी पनि यही जङ्गलमा मर्छौं होला अब,’आधा बेहोसीमा रमेशले भने।रगत सकिएकोझैं फुस्रो भएको थियो उनको अनुहार।

त्यस क्षण उनलाई जीवनको झूटो आश दिन मन लागेन मलाई। चाँडै जङ्गल छिचोल्न नसके मरणको घडी धेरै बाँकी छैन भन्ने मैले मनन गरिसकेको थिएँ। आठौं दिनसम्म आइपुग्दा कम्मरको पेटीमाथि पेटमा कसेर हिँड्यौं। सबै जसो बाटो, घुम्ती, रूख अनि चट्टानहरू पहिलै देखेझैं लाग्थ्यो। कतै एउटै बाटो दोहोराएर हिँडेका त थिएनौं ? या त्यो भ्रममात्र थियो ?बेलुकीपख आकाश मडारिएर पानी दर्कन थालेपछि ठूलो चट्टानको ओडारमा ओत लाग्न पुग्यौं।

निरन्तर हिँडाइले फतक्क भएको शरीरलाई विश्राम पाउँदा केही राहत पुग्यो। भोको पेटलाई भने उमालेको पानीले टार्यौं र निदायौं।भोलिपल्टको मध्यदिनतिर अगाडि हिँडिरहेको रमेश टक्क रोकिएर चनाखो हुँदै भने,‘तिमीले त्यो आवाज सुन्यौ ?’हामीले सास रोकेर सुन्यौं। कतै टाढाबाट मानिसहरूको मधुरो आवाज आइरहेको थियो। संगीत बजेको, मोटर गुडेको, बच्चाहरू चिच्याइरहेको मत्थर आवाज ठम्यायौं।

हामी उफ्रँदै मूलबाटो छाडेर झाडी पन्छाउँदै आवाज आएतिर कुदयौं। त्यस दिन स्वर्गको सानो टुक्रा देखेझैं भान भयो मलाई।सानो खोलाको पारिपट्टि झुरूप्प परेको गाँउ आँखासामु देख्दा मुर्छा छाडेर रोएँ।खोला तरेर त्यस गाउँको छेउ पुग्दा डुब्न लागेको मान्छेले बुट्यानको सहारा भेटेझैं भयो हामीलाई देखेर गाउँका मान्छेहरू झुम्मिन थाले। मैले भने एकपल्ट पछाडि फर्केर हेरेँ।मान्छेको सपना, जीवन र मृत्युको निर्णयाधिकार बोकेर हामीतिर हेर्दै हाँसिरहेको थियो त्यस अजङ्गको डारिएन ग्याप्। सेतो पाटी बाट

२०७८ पुष १३, मंगलवार २२:४९ 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।