२०७९ श्रावण २६
  • काठमाडौँ

कल्पनाकी साथी भन्छिन्- ख’बर सुनेपछि आफू क’हाँ छु भन्ने पनि थाहा नभएजस्तो भयो?

गत फागुन २४ गते विद्यालय बन्द थियो। यसकारण फुर्सदमा रहेकी आठविस नगरपालिका–३ निमायलकी कल्पना भण्डारीले दिनभर घर परिवारलाई काममा सघाइन्। कल्पनाले बेलुका भान्सामा पनि आफैंले काम गर्ने सोचेकी थिइन्।

करिब सवा ५ बजेको थियो। गाउँभन्दा तल पर्ने कर्णाली नदीमा रहेको पुल नजिकै दुई जनाको शव भेटियो भनेर गाउँमा हल्ला चल्यो। केही समय गाउँमा पनि को हुन् भन्ने थाहा भएन।

घटनास्थलमा पुगेको प्रहरीले शव नदीबाट निकाल्न स्थानीयको सहयोग माग्यो। शव निकाल्न सहयोग गरेका मानिसले उनीहरूलाई प्रष्टै चिने। उनीहरू निमायलका कल्पना बडुवाल र सरिता बडुवाल थिए।

लगत्तै गाउँमा खबर पुग्यो। उनीहरू मानसिंह बडुवालका दुई छोरी थिए। कल्पना भण्डारीले पनि यो कुरा करिब ६ बजेतिर थाहा पाइन्। कल्पना बडुवाल कल्पना भण्डारीकी सबभन्दा निकट साथी थिइन्। उनले आफ्नो भान्सामा काम गर्ने योजना छोडिन्।

खबर सुनेपछि आफू कहाँ छु भन्ने पनि थाहा नभएजस्तो भयो, विश्वास गर्ने कि नगर्ने जस्तो भयो,’ पर्सिपल्ट उनीहरूको दाहसंस्कार गर्ने ठाउँमा पुगेकी कल्पनाले भनिन्, ‘हामी सबभन्दा धेरै मिल्ने साथी थियौं, उनी नआए कक्षामा आफू एक्लै छु जस्तो लाग्थ्यो। सायद उनलाई पनि त्यस्तै हुन्थ्यो होला।’

कल्पना बडुवाल धेरै नबोल्ने गमिलो स्वभावकी भएकाले होला उनका मिल्ने साथी धेरै थिएनन्। कल्पना भण्डारीबाहेक उनले आफ्नो नजिकका साथी ठान्ने भनेको घर छिमेकका स्कुलेहरूलाई हो।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी कल्पना, उनकी आमा र अरू तीन भाइबहिनी कर्णाली नदीको किनारमा मृत भेटिएका थिए। हात बाँधिएको अवस्थामा शव फेला पर्नु र आमासहित एकैचोटि नदीमा शव फेला पर्नुले यो दैलेख घटना रहस्यमय बनेको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने मनिता भण्डारी कल्पनाकी बहिनी सरिताकी साथी हुन्। सरिता पनि कक्षा ५ मा पढ्थिन्।

‘अरू भन्दा पनि उनलाई त सँगै खेलेको सम्झिन्छु, प्राय:जसो डोरी खेल्ने बेला उनी मैसँग हुन्थिन्,’ मनिताले भनिन्, ‘अब त सम्झना मात्र रह्यो।’

कक्षा ४ मा पढ्ने भए पनि विकास बडुवाल ललितका साथी थिए। ३ कक्षामा पढ्ने ललित छिमेकी भएकाले पनि उनीहरूको कुरा मिल्थ्यो। मिलनसार स्वभाव भएका ललितलाई विकासले आफ्नो छिमेकी भन्दा पनि विद्यालयको राम्रो साथीको रूपमा चिन्थे।

‘घर त यहीँ नजिकै हो, नाता पनि लाग्छ,’ विकासले भने, ‘आफन्त हो भन्ने लाग्दैनथ्यो, नास्ता खाने समयमा सँगै जान्थ्यौं,’ विकासका अनुसार ललित पढाइमा पनि राम्रै थिए। कक्षामा हुँदाबाहेक प्रायः उनीहरू सँगै हुन्थे।

फागुन अन्तिम साता भएको दैलेख घटनामा मृत्यु भएका कल्पनाका चारै भाइबहिनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्थे।
विद्यालयका प्रधानाध्यापक उजिरसिंह सिजापतिका अनुसार १४ वर्षीया कल्पना कक्षा ७, ११ वर्षीया सरिता कक्षा ५ मा पढ्थे। ८ वर्षका ललित बडुवाल कक्षा ३ मा पढ्थे भने कान्छी बहिनी पाँच वर्षकी रजनी १ कक्षामा पढ्थिन्।

प्रधानाध्यापक सिजापतिका अनुसार कल्पनाका चार भाइबहिनीले सुरूदेखि नै छात्रवृत्ति पाइरहेका थिए। उनीहरू नियमित विद्यालय आउँथे।

‘घर नजिकै भएकाले पनि होला कल्पनाका भाइबहिनी नियमित विद्यालय आउने गरेका थिए,’ सिजापतिले भने, ‘कारणवस कुनै दिन स्कुल ‘मिस’ भयो भने पनि उनीहरू छुटेको पाठ फेरि पढ्न खोज्थे।’

२०७७ चैत्र २, सोमबार १६:०९ 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।