२०७९ आश्विन २२
  • काठमाडौँ

प्रेमिकाको हात माग्न जाँदा गरीब भनेर छोरी दिन अस्वीकार गरेका यी उपसचिव

काठमाडौं। मोरङको बेलबारीका प्रदीप शाह ३६ वर्ष पुगे। यतिबेला उनी नेपाल सरकारका उपसचिव छन् ।उनले घरनजिकै रहेको भगवती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे। बुवा घनश्याम शाह र आमा शिला शाह कृषि सँगै व्यापार गर्ने गर्थे।

‘तरकारी व्यापार गर्ने भएकाले बिहान–साँझ बुवाआमालाई काममा सघाउनुपर्थ्यो, ’उनले भने, ‘खाजा र भात खाने फुर्सद पनि त्यति हुँदैन्थ्यो।’ कति दिन त खाजा खाँदै बुवालाई व्यापारमा समेत सघाएको उनले सुनाए। विद्यालयबाट आए पछि घरको काम गर्नुपर्दा पढ्ने फुर्सद नभएपछि राति ३ घण्टा मात्रै सुतेर पढ्ने गरेको उनले बताए।

राति १२ बजे सुतेर बिहान ३ बजे उठ्ने गरेको उनले सुनाए । राति मेहनत गर्ने भएकाले विद्यालयमा जहिल्यै पनि प्रथम हुने गरेको उनी बताउँछन्। ‘यो काम मात्रै गर्छ, पढेर प्रगति गर्दैन भन्ने धेरै थिए। सरहरूसँग भेट हुँदा पनि कि बुवासँग बजारमा कि आमा सँग बारीमा हुने गरेको थिएँ, !’

उनले भने, ‘आर्थिक अवस्था कमजोर रहेकाले भनेजस्तो लगाउने र बजारका खाने कुरा खान पाइँदैन्थ्यो तर भोकै चाहिँ बस्नु पर्दैन्थ्यो। ’एसएलसी पास गरेपछि आईए सुकुना क्याम्पसबाट गरेको उनले बताए। पास गरेपछि क्याम्पसमा बुझाउने पैसा समेत अभाव हुन थालेपछि ट्युसन पढाउन थालेको उनले सुनाए।

‘उच्च शिक्षा पढाउनका लागि बुवाआमालाई हम्मेहम्मे पर्ने अवस्था थियो’ उनले भने, ‘भाइबहिनीहरूलाई लालनपालन गर्नुपर्ने तथा पढाउनुपर्ने बाध्यता पनि बुवाआमाकै काँधमा रहेकाले खर्चले धान्न सक्ने अवस्था थिएन तर उहाँहरूले मलाई कहिल्यै नपढ भनेर पनि भन्नुभएन।

छोरालाई दुःख गरेर पढाएर भए पनि जागिर खुवाउने उहाँको लक्ष्य रहेपनि मैले ट्युसनबाट जागिरको शुरूआत गरें। ’पढ्दा बुवा आमालाई ऋण लाग्ने बुझेपछि आफूले विद्यार्थी भेला गराएर घरघरमा साइकलमा गएर ट्युसन पढाउन थालेको उनले बताए। ‘कमाउँदै पढ्दै गर्न थालें।

११ पढ्दा १० कक्षाका विद्यार्थीलाई गणित पढाएँ, ’उनले भने, ‘गणित पढाउने सरहरू थोरै हुनुहुन्थ्यो अनि राति पनि घरघरमा गएर विद्यार्थीलाई ट्युसन पढाएर खर्च जुटाएँ।’ राति १–२ घण्टा मात्रै सुतेर पढ्ने गरेको उनले बताए। उनले जनता कलेज इटहरीबाट स्नातक गरेको बताए। बीए गरेपछि स्नातकोत्तर गर्नका लागि काठमाडौं गएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयमा भर्ना भए पनि उनले खासै अध्ययन गरेनन्। बुवाआमाको संघर्ष देखेपछि सरकारी जागिरमा प्रवेश गर्ने लक्ष्य बनाएर लोक सेवा आयोगको परीक्षामा भिडेको उनले बताए। २०६५ सालमा नायब सुब्बामा नाम निकालेको उनले स्मरण गरे।

उनले जागिरमा नाम निकालेपछि सर्लाहीमा पहिलो पदस्थापन भएको थियो। तत्कालीन ढोडना गाविसबाट उनको सरकारी जागिरे जीवन शुरू भएको थियो। जागिर खाँदै गर्दा सिराहामै सीता शाहसँग उनको चिनजान भयो। त्यो चिनजान प्रेममा परिणत भयो।

केही समय ‘लभ’ गरेपछि विवाह गर्ने कुरा चल्यो तर केटी पक्षले उनलाई छोरी दिन अस्वीकार गरे। शाह भन्छन्, ‘अहिले नै विवाह नगर्ने भनेर उहाँहरूले मलाई भन्नुभयो तर बुझ्दै जाँदा गरीब भएको भन्दै अस्वी’कार गरेको भन्ने बुझें। त्यसपछि झन् पीडा भयो।’

सँगै मर्ने र बाँच्ने वाचा गरेको हुँदा सीताले बुवाआमालाई मनाएपछि विवाह भएको उनले बताए। ‘१ वर्षभित्रमा अधिकृत भएर देखाउँछु भनेर मैले प्रतिबद्धता गरें, ’उनले भने। नभन्दै २०६८ सालमा उनले अधिकृत पास गरे। २०७४ सालमा उनले उप सचिव पास गरेका हुन्।

जागिरे जीवनमा सिरहा, सप्तरी, धनुषा, धनकुटा, मोरङ र सुनसरी लगायतका जिल्लामा जागिर खाएको उनले बताए।गरीबीसँगै संघर्ष गरेकाले जागिर खाँदा पनि गरीबी न्यूनिकरण पहिलो प्राथमिकतामा पर्ने गरेको उनले बताए। स्थानीय तहमा काम गर्दा थोरै लगानीबाट धेरै आम्दानी दिने खालका कार्यक्रम ल्याउनका लागि जनप्रतिनिधिलाई सुझाव दिने गरेको उनले बताए। /लोकान्तर बाट

२०७८ पुष १०, शनिबार ००:३३ 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।