२०७९ आश्विन २२
  • काठमाडौँ

घरमा हेर्ने कोही नहुँदा छोरी बोकेरै उनी विद्यालय पढाउन आउँथिन् 

बाँके — एकसुरले विद्यार्थी पढाइरहेकी गीता दियाली झस्किइन् । कक्षाकोठामा सुनिने गरी नानी रोएको आवाज आयो । उनी पढाउन छाडेर हतारिँदै अफिस पुगिन् ।

भुइँमा रोइरहेकी छोरीलाई काखमा राखिन् र दूध खुवाउन लागिन् । खेलौना दिइन् र पनि रुन नछोडेपछि छोरी बोकेरै उनी कक्षाकोठामा पसिन् । रोइरहेकी छोरीलाई उनी केहीबेर विद्यार्थीमाझ राख्थिन् त केहीबेर काखमा । तर छोरी शान्त नभएपछि उनले विद्यार्थीलाई ध्यानकेन्द्रित भएर पढाउन सकिनन् ।

नेपालगन्ज उपमहानगरस्थित घरबारी टोलको राष्ट्रिय माविकी शिक्षिका गीताले छोरी स्याहार्दै पढाउँदै गरेको एक वर्ष भयो । १४ महिनाकी छोरीलाई उनी आफूसँगै विद्यालय ल्याउँछिन् । झोलामा पुस्तकसँगै नानीका लागि लुगा, डाइपर, दूध, खेलौना पनि बोकेर आउँछिन् ।

कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा खासै समस्या नभए पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएपछि भने उनलाई बोझ थपिएको छ । श्रीमान्–श्रीमती दुवै जना जागिरे भएकाले परिवारमा छोरी हेर्ने कोही छैन ।

‘त्यसकारण पनि छोरीलाई स्कुल ल्याउनुबाहेक अरू उपाय छैन,’ गीताले भनिन्, ‘यसैगरी ठूलो छोरो पनि हुर्काएँ ।’
गीताकै सहकर्मी शिक्षिका कृष्ण नेपालीले पनि ४ वर्षकी छोरी यसैगरी हुर्काएकी हुन् ।

३ महिना सुत्केरी बिदा पूरा गर्नेबित्तिकै उनी पनि विद्यालयमा हाजिर हुनुपर्‍यो । घरमा हेर्ने कोही नहुँदा छोरी बोकेरै उनी विद्यालय आउँथिन् । बोकेरै विद्यार्थीलाई पढाउँथिन् । अर्की शिक्षिका तारा न्यौपाने

कार्यस्थलमै छोराछोरीको जिम्मेवारी बोकेर काम गर्दा नमज्जा लाग्ने बताउँछिन् । सन्तान च्यापेर हिँड्दा चिसो लाग्ने, बिरामी हुने जोखिम उस्तै हुन्छ । ‘हामी आमा शिक्षिकाले आनन्दले सन्तानलाई दूध खुवाउन पनि पाउँदैनौं,’ उनले भनिन् ।

ताराका दुई छोरी हुर्किसकेका छन् । तर विगतमा छोरी पिठ्युँमा बोकेर विद्यार्थीलाई पढाएका दिनको सम्झना उनलाई ताजै छ । तीन महिनाकी छोरी बोकेर १७ किलोमिटर टाढाको विद्यालय पुग्दा धेरै चुनौती झेल्नुपरेको अनुभव उनलाई छ ।

चिसोमा आफूसँगै लैजानुपर्दा रु’घा’खोकी’ले कहिल्यै छोड्दैनथ्यो । विद्यालमा बाल स्याहार गृह छैन । ‘कसो गरी हुर्काइयो हुर्काइयो,’ उनले भनिन्, ‘राम्रोसँग दूध खुवाउने समय पनि पाइँदैनथ्यो ।’

२०७८ मंसिर २७, सोमबार २२:५४ 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।