२०७९ असार १४
  • काठमाडौँ

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुई जनाको रिपोर्ट यस्तो आयो

काठमाडौ : कोभिड -१९ भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा. पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए ।

यस्तै रुपन्देहीको सीमा क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए।

उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए। ‘विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ’ उनले भने।

बेलहिया नाकाबाट भारतलगायत, अष्ट्रेलिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन्। स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘र्‍यापिड एन्टिजेन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए।

२०७८ मंसिर २२, बुधबार ०६:५२ 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार