२०७९ असार १४
  • काठमाडौँ

कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग्यो

काठमाडौं : बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ ।

वैदे शिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्ण कुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा नर्स पठाउने प्रकृया थालिएको बताए । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता गर्न लागिएको जानकारी दिए ।

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो।सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन्।

उनका अनुसार नेपाल र बेलायत बीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भए सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ। सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेपनि नेपालले प्रकृया अघि नबढाउँदा पठाउन सकिएको थिएन ।

पछिल्लोपटक नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारी अवस्थामा बसेका छन् । बेलायतले अनुभव भएका नर्स नेपालबाट त्यहाँ लैजान चाहेको छ । मन्त्रालयका अनुसार बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी हुनेछ ।

मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्य/रोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउने/जाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ । खबरहाउस बाट

२०७८ मंसिर ३, शुक्रबार ११:५७ 0 Minutes 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार