
काठमाडौं । प्रेमका लागि दरबार त्यागेकी जापानकी पूर्व राजकुमारी माको कोमुरो अमेरिका गएकी छन् । सर्व साधारण प्रेमीसँग विवाह गरेकी माको आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् ।
आइतबार बिहान टोकियोको हानेदा विमान स्थलबाट माको र उनका पति केइ कोमुरो अमेरिका प्रस्थान गरेको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ । नवविवाहित जोडी न्युयोर्कमा एक अपार्टमेन्ट भाडामा लिएर बस्नेछन् ।
पूर्व राजकुमारी माकोका पति वकिल हुन् र उनले न्युयोर्कस्थित एक ‘ल फर्म’मा काम गर्छन् । माकोले आफ्ना सर्व साधारण प्रेमी कोमुरोसँग गत महीना विवाह गरेकी थिइन् ।
कोमुरोसँग विवाह गरेपछि उनको शाही पद गुमेको छ । चार वर्षअघि कोमुरो र माको बीच ‘इन्गेजमेन्ट’ भएको थियो । दुबै जनाले सन् २०१८ मा बिहे गर्ने योजना बनाएका थिए ।
तर जनस्तरबाट विरोध र कोमुरोकी आमाको आर्थिक काण्डको समाचार बाहिरिएपछि उनीहरुको प्रे’म सम्बन्ध विवाहमा परिणत हुन ढिलाइ भएको थियो । सर्वसाधारण व्यक्ति राजकुमारीको श्रीमान् हुन !
अयोग्य हुने भन्दै कतिपय जापानीले विरोध गरेका थिए । यस्तै केही मिडिया रिपोर्टमा कोमुरोले पैसाका लागि माकोसँग प्रेम सम्बन्ध गाँसेको भन्दै उनलाई ‘गोल्ड डिगर’को रुपमा चित्रण गरेका थिए ।
गत महिना कोमुरोसँग बिहे गर्दा माकोले परम्परागत शाही विधि अपनाइनन् । त्यस्तै राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद समेत माकोले अस्वीकार गरिन् ।
कतिपयले माको र कोमुरोको विवाहलाई बेलायती राजकुमार ह्यारी र मेगन मर्केल बीचको विवाहसँग तुलना गर्छन् । सन् २०१७ मा राजकुमार ह्यारीसँग मर्केलको ‘इन्गेजमेन्ट’ भएपछि विवाद निम्तिएको थियो । सीएनएनबाट