२०७९ असार १४
  • काठमाडौँ

मलेसियामा काम गर्दा बुनेको सपना नेपाल आएर पूरा

मलेसियामा काम गर्दा बुनेको सपना नेपाल आएर पूरा

झट्ट सुन्दा फूड ट्रक भनेपछि खाद्यान्न ढुवानी गर्ने ट्रक हो भन्ने लाग्ला । किनकी ट्रकले सामानको ढुवानी नै गर्ने हो । त्यसैले पनि फूड ट्रक शब्द कानमा गुञ्जिने बित्तिकै हाइवेमा गुडिरहेको गह्रुँगो ट्रकको दृश्य दिमागमा आउँछ । तर ललितपुर, गोदावरीका सुदीप घिमिरेको फूड ट्रक भने बेग्लै छ ।

उहाँको ट्रकले खाद्यान्नको ढुवानी गर्दैन । न त च’र्को हर्न बजाएर हाइवेमा नै गुडिरहन्छ । अनि के गर्छ त फूड ट्रकले ? ‘यो ट्रकले सिंगै रेस्टुरेन्ट बोकेर हिँड्छ’, सुदीपले मुस्कुराउँदै भन्नुभयो, ‘यस्तो सिस्टम यतातिर नभएर होला नाम सुन्दा धेरैलाई सामान बोक्ने ट्रक नै भन्ने लाग्दो रहेछ ।’

वैदेशिक रोजगारीको क्रममा तीन वर्ष मलेसिया बसेर फर्किनुभएको हो सुदीप । घरको आर्थिक अवस्था माथि उठ्छ भन्ने लागेर उहाँ कलिलै उमेरमा परदेश लाग्नुभयो । नेपालमा छँदा होटलमा काम गरेको अनुभव थियो । त्यही अनुभव लिएर उहाँ मलेसियामा जानुभयो । त्यहाँ पनि होटलकै काम ।

कमाइ चित्त बुझ्दो थियो । जे जस्तो भए पनि परदेश गाउँघरजस्तो कहाँ हुन्छ र ? उहाँको मनले उतै बसिरहन मानेन । जे जति कमाउनुभयो त्यसैमा चित्त बुझाएर स्वदेश फर्किने निधो गर्नुभयो । आफूसँग सीप भएपछि गाउँघरमै पनि केही गरिहालौँला नि भन्ने लागेर तीन वर्षको बसाइलाई बिट मार्दै दुई वर्ष पहिले सुदीप घर फर्किनुभयो

विदेशमा देखियो, नेपालमा गरियो मान्छेले सबै कुरा पेटबाटै कहाँ सिकेर आउँछ र ? केही पढेर सिक्छ, केही भोगेर । केही देखेर । सुदीपले पनि मलेसियामा छँदा ट्रकमा रेस्टुरेन्ट चलाएको देख्नुभएको थियो । चिटिक्क सजाइएको ट्रकमा मज्जैले चलिरहेको रेस्टुरेन्ट देख्दा त्यतिबेलै लागेको थियो ‘नेपालमा पनि गर्न सकिहालिन्छ नि यो त

नेपाल फर्किँदा सुदीपको दिमागमा यही एक कुरा थियो । मनमा यसैबारे योजना बनाउँदै उहाँ नेपाल आउनुभयो । नेपाल फर्केपछि उहाँले यही कुरा आफ्नो साथी गणेश कार्कीसँग साँट्नुभयो । साथीले पनि ‘हुन्छ, गरौँ न’ भनेपछि सुदीपलाई थप आँट मिल्यो । हौसला मिल्यो ।

त्यसपछि एउटा ‘सेकेण्ड ह्याण्ड’ बस किनेर त्यसलाई ‘रिमेक’ गराइ फूड ट्रकको रुपमा परिणत गरियो । लगभग १६ लाख रुपैयाँ लगानीमा फूड ट्रक तयार भयो । नाम राख्नुभयो ‘एमिगो फूड ट्रक ।’

फूड ट्रक तयार भयो तर नयाँ किसिमको व्यवसाय भएकाले केही चुनौती त छँदै थिए । सञ्चालन भएको ६ महिनासम्म बजारमा आफ्नो पहिचान बनाउँनै समस्या भयो । जब बजारमा राम्रोसँग स्थापित भइयो तब कोरोना महामारीले सबै बन्द गरायो ।

‘सुरुसुरुमा त हामीलाई स्टेबल हुनै गाह्रो भयो, बजार नपाइने हो कि भन्ने चिन्ता पनि लाग्यो’, सुदीपले भन्नुभयो, ‘फूड ट्रक लिएर स्थानीय बजारमा जाँदा महँगो होला भनेर आउन नमान्ने र अलि हाइफाइ क्षेत्रमा जाँदा कोरोनाका कारण भन्दै खाजा खान डराउने ।’

कोरोनाको त्रा’स कम भएसँगै बिस्तारै ग्राहकहरु बढ्न थाले । एमिगो फूड ट्रकले सुरुमा गोदावरी आसपासमा सेवा दिइरहेको थियो । तर अहिले हेटौँडा बजारमा भाटभटेनीको अगाडि उहाँको फूड ट्रक रहन्छ ।

तिहारपछि हेटौँडा बजारमा फूड ट्रक सञ्चालन गरिरहेको सुदीपको भनाइ छ । व्यापारको दृष्टिकोणले गोदावरीभन्दा हेटौँडामा राम्रो भएकाले यतै आएका हौँ’, सुदीपले भन्नुभयो, ‘यता राम्रो चलेपछि गोदावरीमा शाखाको रुपमा फेरि जाने सोचेका छौँ ।’

‘नाइट स्टे’ देखि ‘अकेजन सेलिब्रेशन’ फूड ट्रकलाई ३५ जना भन्दा बढी अटाउने गरि डिजाइन गरिएको छ । बसको भित्र १५ जना आरामसँग बसेर खाजा खान सक्छन् । छतमा रुफटप पनि छ । रुफटपमा २० जना बस्न सक्ने ठाउँ छ । बाहिरी वातावरणको अवलोकन गर्दै खाजा खान रुचाउनेको लागि रुफटप ‘बेस्ट’ हुने सुदीप बताउनुहुन्छ ।

किचेन, हात धुने र शौचालयको व्यवस्था पनि गाडीभित्रै गरिएको छ । भित्र छिरेपछि यो गाडी हो भन्ने नै भुलाउने गरि व्यवस्था गरिएको छ । किचेन देखि सर्भिसम्म सुदीप र गणेश आफै खट्नुहुन्छ ।

खाने कुरामा फास्टफूड तथा बार्बिक्यु तन्दुरी परिकारहरु पाइन्छन् । ग्राहकको आग्रहमा फूड ट्रकलाई चलाएर उनीहरुको रोजाइको क्षेत्रसम्म पुर्याएर सेवा दिने (क्याम्पेन सर्भिस) गरिएको छ । ‘

हामीसँग लजिङ र फूडिङ दुइटै व्यवस्था छ, ग्राहकको आग्रहअनुसार हामीले विभिन्न ठाउँमा लिएर जाने गरेका छौँ’, सुदीप भन्नुहुन्छ, ‘नाइट स्टे देखि अकेजन सेलिब्रेशन सबै गराउने गरेका छौँ ।

धेरैजसो बर्थ डे तथा गेट टुगेदर पार्टी गर्नेहरु आउँछन् ।’ सुदीप कमाइमा सन्तुष्ट नै हुनुहुन्छ । एउटा क्याम्पेन अर्गनाइज गरेमा दिनमा १० हजार रुपैयाँसम्म फाइदा हुने उहाँ बताउनुहुन्छ ।

थोरै गुनासो कहिलेकाहीँ नेपालको अवस्था हेर्दा त दिक्क लाग्छ सुदीपलाई । नयाँ व्यवसाय गरौँ भन्दा सरकारी नीति नियम नै नबनेका कारण अगाडि बढ्न समस्या हुने उहाँको भनाइ छ । फूड ट्रक दर्ता गर्न पनि निकै झमेला खेप्नुपरेको उहाँ बताउनुहुन्छ । ‘

नेपालमा यस्तो व्यवसाय के आधारमा दर्ता गर्ने भन्ने प्रोभिजन नै छैन । नगरपालिकामा गर्दा घुम्ती खाजा घर भनेर राखेको छ’ सुदीपको गुनासो छ, ‘मोबाइल रेस्टुरेन्टबारे कानुनी व्यवस्था नहुँदा ट्राफिक समस्या पनि झेल्नुपरेको छ । कहिलेकाहीँ ट्राफिकले चिट का’ट्छ’न् ।’

समस्या अनेक छन् । झमेलाहरुका बीच पनि पाकिरहन्छन् एमिगो फूड ट्रकभित्र स्वादिस्ट परिकार । बाहिरी चुनौतीहरुसँग जुध्दै कहिलेकाहीँ क्याम्पेन गर्न गुडिरहन्छ गाडी । भविष्यमा यही व्यवसायलाई फैलाउँदै जाने सोच छ सुदीपको ।

देशमै केही गर्नुपर्छ भन्ने सोचेर लागिरहनुभएका सुदीप भन्नुहुन्छ, ‘गर्न सके त नेपालमै धेरै छ, उद्यम गर्नेहरुलाई सरकारले पनि केही सहजता गरिदिए विदेशको कमाइ त के हो र !’ उज्यालो अनलाइन बाट

२०७८ मंसिर १, बुधबार १३:२० 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार