२०७९ भाद्र १
  • काठमाडौँ

जहाँ मन्दिरमा कुमार केटालाई चढाइन्छ

दैलेखको गुराँस गाउँपालिका–१ स्थित तल्लो डुंगेश्वरमा शिव महादेवको मन्दिर छ। पञ्चकोशी तिर्थस्थल मध्येको एक शिव महादेश मन्दिरमा कुमार केटालाई देउतालाई चढाउने चलन छ। पुस्तौंदेखिको यो परम्परा अनुसार १६ वर्ष उमेर नपुग्दासम्म र परस्त्रीसँग सम्वन्ध नराख्दासम्म देउकोटाले पूजाआजा र मन्दिरको रेखदेख गर्नुपर्छ।

भर्खरै सात वर्षीय सुवास गिरीलाई मन्दिरमा चढाईएको छ। सात वर्षीय सुवासले देउकेटाका रुपमा मन्दिरको संरक्षण, रेखदेख र पूजाआजा गर्नेछन्। उनी १६ वर्ष उमेर नपुग्दासम्म अथवा परस्त्रीसँग शारिरिक सम्वन्ध नराख्दासम्म देउकेटाका रुपमा काम गर्नेछन्। कुमार केटाले पूजाआजा नगरे अनर्थ हुने विश्वास यहाँका स्थानीयमा छ।  

सुवासअघि देउकेटाका रुपमा जीवन गिरी थिए। उनी १६ वर्ष पुगेकाले भर्खरै विदा भएका छन्। सुवास अव घर जान पाउँदैनन्। मन्दिरमै बस्नुपर्छ। ‘चलिआएको परम्परा भएकाले मन्दिरमा बस्न अप्ठ्यारो लाग्दैन्,’

सुवासले भने, ‘परम्परा धान्न र मन्दिरप्रतिको आस्था र विश्वास कायमै राख्ने गरेर काम गरिरहेको छु।’ सुवास स्थानीय महादेव प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन्। मन्दिरमा पूजाआजाबाहेकको समय उनी पढाईमा खर्चिन्छन्। 

मंगलबार र शनिबार मन्दिरमा विशेष पूजा हुन्छ। दुई दिन दर्शनार्थीको घुइँचो लाग्छ। ‘मंगलबार र शनिबार विशेष पूजा हुने भएकाले धेरै दर्शनार्थी आउनुहुन्छ,’ उनले भने, ‘अरु बेला विहान–बेलुका पूजाआजा हुने भएपनि धेरै घुइँचो हुँदैन्।’

उनी मंगलबार स्कुल जान पाउँदैनन्। ‘अरु बेला स्कुल लागेका बेला नियमित विद्यालय जान्छु,’ उनले भने, ‘पूजाआजाबाहेक अरु बेला पढ्नमै समय जान्छ।’  

सरकारले मन्दिर क्षेत्रलाई महादेव गुठीको रुपमा मान्यता दिएको छ। डुंगेश्वर दैलेख र अछामको संगमस्थल हो। यहाँ मन्दिरको पूजाआजाका लागि देउतालाई चढाईने देउकेटा गिरी परिवारका हुन्छन्। मन्दिरमा पुजारीका रुपमा सुवाससँगै महन्त, सन्त र  कोठारी गरी पाँच पद छ।

‘पाँचै जना मन्दिरमा कार्यरत हुनुहुन्छ,’ स्थानीय जीवन गिरीले भने, ‘पहिलेजस्तो सहज भने छैन्, दैनिक खर्च चलाउन समस्या हुन्छ।’ पञ्चकोशी तीर्थस्थल मध्ये शिव मन्दिरमा गिरी, शीरस्थान मन्दिरमा नाथ, कोटीलामा योगी र धुलेश्वरमा सन्यासीले पूजाआजा र गुठी क्षेत्रको संरक्षण गर्दै आएका छन्।

मन्दिरमा संकलन हुने दान–दक्षिणाबाटै गिरी परिवारको दैनिकी चल्छ। स्थानीयहरुले पवित्र तिर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न माग गरेका छन्। ‘परिवार पाल्न गाह्रो भयो भन्दैमा पुख्र्यौली संस्कार र परम्परा त्याग्न भएन्,’ उनले भने, ‘सरकारले तिर्थस्थललाई पर्यटकीय क्षेत्र घोषणा गरेर प्रचार–प्रसार गरिदिए सहज हुने थियो।’

२०७८ मंसिर १, बुधबार ००:२९ 0 Minutes 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।