२०७९ असार १५
  • काठमाडौँ

दाङ र सल्यान मा विप्लवका कार्यकर्ताले बनाए जेब्रा क्रसिङ

दाङ ! नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तुलसीपुरका सडकका चोकमा जेब्रा क्रसिङिङ बनाएका छन्।

आफैंले आयोजना गरेको नेपाल बन्दमा उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस् भनेर तुलसीपुरको वीरेन्द्र चोक लगायतका स्थानमा जेब्रा क्रसिङ बनाएका हुन्।

बन्द सफल पार्न वीरेन्द्र चोकमा खटिएका नेकपा दाङका जिल्ला कमिटी सदस्य विजय मल्लले दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफू लगायतका नेता-कार्यकर्ता मिलेर बन्दको सदुपयोग गर्दै सडकमा जेब्रा क्रसिङ बनाएको जानकारी दिए।

बन्दको दिनमा गाडीहरू नगुड्ने हुँदा बन्दको सदुपयोग गर्दै हामीले बढी भिडभाड हुने ठाउँमा जेब्रा क्रसिङ आफैंले निर्माण गरेका हौं,’ मल्लले भने, ‘बढी भिडभाड हुने ठाउँमा जेब्रा क्रसिङको नाम निशान पनि छैन, त्यसैले सर्वसाधारणको सजिलोको लागि र दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भनेर हामी आफैंले सडक पेन्टिङ गरेका हौं।’

मल्लको हातभरि पेन्टिङ लतपतिएको देखिन्थ्यो। व्यवसायीसँग रङ सहयोग मागेर जेब्रा क्रसिङ बनाइएको उनले बताए।

सडकमा पेन्टिङ गर्नुपूर्व उनीहरूले सडकमा आफैं झाडू लगाएर बढारेका थिए। पेन्टिङ गरेपछि उनीहरूले सडक मै ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारा पनि लेखेका छन्।

बन्द गराउन चोकमा खटिएका विप्लवका नेता/कार्यकताले आफैं सडकमा झाडू लगाएर जेब्रा क्रसिङ बनाउन थालेपछि सुरक्षाको लागि चोकमा खटिएका प्रहरी र सर्वसाधारणले पनि रूचिपूर्वक नियालेको देखिन्थ्यो।

जिल्ला सदस्य मल्लले साधन स्रोतका अभावले सबै चोकमा जेब्रा क्रसिङ बनाउन नसकिएको र फेरि सहयोग मागेर तुलसीपुरका अन्य चोकमा पनि सर्वसाधारणको सजिलोको लागि जेब्रा क्रसिङ बनाउने योजना रहेको जानकारी दिए।

उनले अब छिट्टै बजार क्षेत्र र मुख्य राजमार्ग क्षेत्रका सडकका खाडल पुर्ने योजना रहेको बताए।

‘सडक नै भरि खाडल छन् र ती पुर्न कसैले चासो दिएको देखिएन,’ मल्लले भने, ‘ती खाडलले थुप्रै दुर्घटना भएका छन्। दुर्घटना न्यूनीकरणमा सघाउ पुगोस् भनेर हाम्रो पार्टीले सडकका ठूला खाल्डाखुल्डी पुर्ने निर्णय गरेको छ।’

यही हप्ताभित्रै आफूहरू दाङका प्रमुख सडकका खाल्डाखुल्डी पुर्नका लागि खटिने मल्लले जानकारी दिए।

सडकका खाल्डाखुल्डी पुर्नका लागि जिल्लामा सञ्चालित क्रसिङर उद्योगहरूसँग आवश्यक बालुवा गिट्टी माग्ने कि भनेर सरसल्लाह भइरहेको उनले बताए। त्यसो नभए आफैं ट्याक्टर, टिपर लगेर खोलामा गई बालुवा गिट्टी ल्याई सडकका खाडल पुर्न सकिने मल्लले जानकारी दिए।

तस्करहरूले रातारात नदी खोला दोहन गर्न हुन्छ भने हामीले किन सामाजिक कार्यका लागि खोलाबाट केही बालुवा गिट्टी उठाउन नपाउने ?,’मल्लले प्रश्न भने, ‘हामीले व्यक्तिगत रूपमा कमाउनका लागि हैन सडकका खाल्डा पुर्न लागेका हुँदा हामीलाई कसैले रोक टोक गर्न मिल्दैन।’

चर्को मूल्य वृद्धिविरूद्ध आफ्नो पार्टीले गरेको नेपाल बन्द जनताकै सहयोगमा सफल बनेको उनले दाबी गरे। त्यस्तै यता
सल्यान मा पनि मंगगलबार गरेको नेपाल बन्दको क्र,ममा बन्द’कर्ताले सडकमा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेका छन् । श्रीनगरका ३ ठाउँमा जेब्रा क्रसिङ निर्माण र रङरोगन गरेकाे नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्काले बताए । सेतोपाटी बाट साभार

२०७८ कार्तिक ३०, मंगलवार १०:५५ 1 Minute 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार